No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हाम्रा माननीय र भैंसी बहस

0

नारायण गाउँले ।
दश वर्षअघिको भारत र आजको भारतमा ठूलो अन्तर छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा हिजो एउटा कुनामा देखिने भारत आज ’फ्रन्ट’ मा देखिन्छ । हिजो अमेरिकी छायाँ जस्तो देखिने देश आज तिम्रो समस्या तिम्रै हो, युरोपको समस्या युरोपकै हो, हाम्रो होइन भनेर मुखभरिको जवाफ फर्काउँछ । सस्तोमा रसियन कच्चा तेल किन्छ र प्रशोधन गरी युरोपलाई बेच्छ । यसबीच हिजो आफैंमाथि शासन गर्ने बेलायतलाई उछिन्दै उसको अर्थतन्त्र पाँचौँ ठूलो बन्यो भने प्रतिव्यक्ति आय पनि दोब्बर भयो ।

आज मुख्य अर्थतन्त्रमध्ये सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र उसैको छ । प्रत्यक्ष्य वैदेशिक लगानीमा समेत चीनलाई उछिनेर ऊ नम्बर एक बन्यो । विश्वका ठूला कम्पनी र उद्योगी भारतको मुख ताक्दै छन् ! आज ऊ ब्रिक्समा बसेर जी–७ भनिने ठूला देशलाई चुनौती दिन सक्छ, रसियासँग हतियार किनेर अमेरिकासँग सैन्य सम्झौता गर्न सक्छ । चीन र रसियासँग एउटै फोरममा छलफल सकेर बेलायत र अमेरिकासँग संवादमा जुट्न भ्याउँछ । भारतभित्र आन्तरिक लोकतन्त्र र लोकतन्त्रका पिल्लर मानिने संस्थाहरू इतिहासमैं सबैभन्दा कमजोर भएका छन् भनिन्छ तर त्यसमाथि प्रश्न उठाउन कुनै देश तैयार छैनन् ।  ब्रिक्स, बिम्सटेक, क्वाड, शांघाई कोपरेशनजस्ता दर्जनौं पटक सङ्गठन र फोरममार्फत् उसले सैन्यदेखि आर्थिक सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ ।

मोदीलाई आफ्नो देशमा स्वागत गर्न र औपचारिक भारत भ्रमण गर्न आज विश्वका ठूला देशहरू लालायित देखिन्छन् । बेलायत, अस्ट्रेलियाजस्ता धेरै देशले भारतीयकै लागि भनेर आफ्नो देशको अध्यागमन कानुनमा समेत हेरफेर गर्ने अवस्था छ । सक्नु नसक्नु अलग कुरो, तर आज वैश्विक नजरबाट हेर्ने हो भने रसिया र युक्रेन द्वन्द्वमा म मध्यस्थता गर्छु भन्यो भने चीन र अमेरिकाभन्दा भारतमाथि धेरैले विश्वास गर्छन् ।

तर, यो दश वर्षमा हामी झन् पत्रु र अर्थहीन भएका छौं । वैदेशिक ऋण दोब्बर बढ़ी भएको छ तर राष्ट्रिय आम्दानीलाई सुकेनास रोग लागेको छ । ऋण लिएको एउटा आयोजनाले पनि ब्याज तिर्ने पैसा उठाएको छैन । साँवा तिर्ने के गरी हो ! हामीसँग पूँजीगत खर्चका लागि एक रुपियाँ पनि बचत छैन । भारतको छिमेकी एउटा प्रान्त उत्तरप्रदेश जत्रो पनि छैन देश तर सातवटा सरकार र गन्नै नसकिने मन्त्री छन् । तिनलाई तलबभत्ता पुग्ने जति राजश्व पनि उठ्दैन । ऋणको ब्याज तिर्न समेत ऋण लिन पर्ने अवस्था छ । हाम्रो आय भनेको भन्सार हो । त्यो बढ्दा आयात बढ्छ र वैदेशिक मुद्रा सञ्चिति घट्न जान्छ । आयात रोकौं, भन्सार घट्छ र तलब खान पुग्दैन । यस्तो दुर्दशा छ । विगत पाँच–छवटा बजेट हेर्नुभो भने सजिलै थाहा हुन्छ, विकास खर्च भनिने पूँजीगत खर्चका लागि राजश्वको एक रुपियाँ पनि उपलब्ध छैन । सबै मागेर र ऋण लिएर गर्ने हो । अनि त्यसैमा करोडौंको भ्रष्टाचार गर्ने हो । सुशासनको इन्डेक्समा त हामी त्यसै पुछारबाट प्रथम छौं ।

यस्तोमा दश वर्षअघि फल्नो नेतालाई भारतले यस्तो स्वागत गर्यो, अहिले उस्तो गर्यो भन्नुको कुनै औचित्य छैन । आज भारतबाहेक अर्को देशले औपचारिक भ्रमणमा बोलाउने हैसियत पनि हाम्रो छैन । कुनै बेला बेलायत र अमेरिकाले राजकीय भ्रमणको निम्तो दिन्थे । हिजो ऊर्जासङ्कटबाट आक्रान्त भारत आज आफैं विद्युत बेच्ने भएको छ । हामी नदी देखाउँदै “लौ आयो बिजुली बिजुली, हेर्नुस् बिजुली बिजुली“ गर्दै बसेका छौं । केही वर्षमा हाइड्रोजनदेखि आणविक र सौर्यदेखि वायुसम्म ऊर्जाका स्रोतको यसरी विविधीकरण हुँदै छ कि हाम्रो नदीबाट विजुली निकाल्नु व्यावसायिक दृष्टिले महँगो र अनुत्पादक हुनेछ । त्यसअघि नै पर्यावरणीय विनाशले नदी सुक्ने डर पनि छँदै छ । कुनै पनि देशले अर्को देशलाई मात्रै लाभ हुने गरी द्विपक्षीय सम्बन्ध राखिराख्दैन । महत्त्व र औचित्यका आधारमा सम्बन्ध बन्ने र तिनले त्यही अनुसार भ्यालु पाउने हुन् । यो युग ‘ट्रेड’को हो । हामी ट्रेड होइन, माग्ने भन्ने मात्रै जान्दछौं ।

आज हाम्रो पहिचान नै भिखारीको जस्तो छ । माग्ने मात्रै । अनि नेता र संसदको चरित्र र व्यक्तित्व पनि त्यस्तै छ । हाम्रो बहस र आलोचना हेर्नुभो भने यो सजिलै बुझिन्छ । संसदमा भैंसीबारे तुच्छ बहस गरिरहेका हाम्रा शासक, माननीय र भविष्यका शासक हेरेर कुन देशले हामीलाई सम्मान गर्ला ! कुनै भ्रमण त यस्तो पनि होस् जहाँ हामीले छाती फुलाएर भन्न सकौं, हामी ट्रेड चाहन्छौं । हामी तपाईंलाई चाहिएको दिन्छौं तर हामीलाई चाहिएको तपाईंले आनाकानी नगरी दिनुपर्छ । ठीक छ, हामी नदीको पानी दिन्छौं, समथरमा बाँध जटिल हुन्छ, त्यसैले हाम्रै उच्च भूमिमा बाँध पनि दिन्छौं तर हामीलाई एउटा डेडिकेटेड बन्दरगाह र त्यहाँसम्म पुग्ने करिडोर चाहिन्छ, तेस्रो देशसँगको निर्बाध व्यापार चाहिन्छ ।

हामी हाम्रो भूमिमा भारतविरोधी गतिविधि नहोस् भन्ने ग्यारेन्टी गर्छौं तर हाम्रो सीमाको सम्मान र सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्छ । हामी तपाईंबाट किन्छौं तर हाम्रो तरकारी होस् या अलैची पनि तपाईंले रोक्न पाउनुहुन्न । द्विपक्षीय ट्रेडका क्षेत्र र आयाम धेरै हुन्छन् जसलाई स्थानीय विज्ञले पहिचान गर्न सक्छन् । दुई देशबीच अनेक समस्या हुन्छन् । हरेक भ्रमणमा सबै समस्या उठाउने तर छलफल र समाधान केही नहुने हुनुभन्दा अलि कम विवादित र छिटो निष्कर्षमा पुगिने मुद्दा मात्रै उठाउन पनि सकिन्छ । अरू मुद्दा अर्को बेला उठाउन पनि मिल्छ ।
अहँ, हामी सबै विज्ञ छौं । अर्को विज्ञ किन चाहियो ? हामीले सदनमा प्रधानमन्त्रीलाई भन्यौं, तपाईं भैंसी चढेर आउनुभयो । भैंसी मात्रै ल्याउनुभयो । मानौं धेरै ल्याउनकै लागि हामी झोला भिरेर गएका थियौं । तैंले ल्याउन सकिनस्, हुर्रे !

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार ०४:०४

Leave a Reply