अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ । ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पु¥याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन् ।
ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार मायामीस्थित एउटा अदालतमा डाकिएको जनाएका छन् । अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए । छयहत्तर वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ । सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने योजना ट्रम्पले बनाइरहेका छन् । उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन् ।
सो अभियोजन सरकारी दस्तावेजहरूसँग जोडिएको र एक भन्दा बढी आरोपहरू लगाइएको उल्लेख गरेको छ । सीएनएन र एबीसी न्यूज जस्ता अन्य समाचार च्यानलहरूले कम्तीमा सातवटा अभियोग लगाइएको बताइरहेका छन् ।
अभियोजनले आरोप लगाइएका विषयलाई सन्दिग्ध व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने बाटो खल्ने गर्छ । न्याय मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अमेरिकी महान्यायाधिवक्ताले विशेष अभियोजनकर्ता ज्याक स्मिथलाई उक्त दस्तावेज प्रकरणहरूबारे जाँच गर्न गएको नोभेम्बरमा जिम्मेवारी दिएका थिए । अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घर ‘मर–आ–लागो’ मा छापा हानेर ११ हजार दस्तावेज जफत गरिएका थिए र त्यसमध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको थियो ।