दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा रोजगारदाता र रोजगार खोजीकर्ताबीच सम्पर्क सूत्रका रुपमा एकीकृत रोजगार पोर्टल विकास गर्ने, ‘सिकाउने, टिकाउने र श्रम बजारमा बिकाउने’ अभियानसहित प्राविधिक तथा व्यावसायिक शिक्षामा रुपान्तरण गरिने उल्लेख छ ।
यस्तै, लुम्बिनी भ्रमण दशक मनाउने, बृहत् ‘बुद्ध सर्किट’ विकास गर्न र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न संघसँग समन्वय गर्ने साथै अन्तर्राष्ट्रिय करुणा तथा शान्तिकेन्द्र स्थापना गर्न अध्ययन गरिने उल्लेख छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालक सचेतना कार्यक्रम,’ ‘दुर्घटना न्यूनीकरणमा ट्राफिक विद्यार्थी सँगसँगै’ जस्ता सचेतनामूलक कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।