No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ड्रोन आक्रमणमा रुसका सैन्य विमानहरूमा क्षति

0

रुसको उत्तर–पश्चिमी सहर पस्कोभको एक विमानस्थलमा भएको ड्रोन आक्रमणमा दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी समाचार संस्थाहरूले जनाएका छन् । आक्रमण पछि इल्युशिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको जनाइएको छ ।

स्थानीय गभर्नरले यसअघि सेनाले उक्त आक्रमणलाई प्रतिकार गरिरहेको बताएका थिए। उनले ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमार्फत् शेयर गरेका थिए जसमा विस्फोटको चर्को आवाज पनि सुनिएको थियो । पस्कोभ युक्रेनबाट ६ सय किलोमिटर टाढा छ र यो इस्टोनियाको सीमा नजिकै पर्छ ।

युक्रेनले पछिल्लो आक्रमणमा आफ्नो संलग्नताबारे कुनै जानकारी दिएको छैन। उसले रुसभित्र भएका आक्रमणहरूबारे कमै मात्र टिप्पणी गर्ने गरेको छ । पछिल्ला केही सातायता युक्रेनले रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको ठानिएको छ ।

यसैबीच मस्कोको भिन्नुकोभो विमानस्थलमाथिको हवाई क्षेत्र बन्द गरिएको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ। रुसको आपत्कालीन सेवा प्रदायकलाई उदृत गर्दै रुसी समाचार संस्था तासले चार वटा इल्युशिन ७६ (आईएल–७६) विमानहरूमा क्षति पुगेको जनाएको छ।

तीमध्ये दुई विमानहरूमा विस्फोट भई ‘आगोको लप्कामा परिणत’ भएका थिए। रिया समाचार संस्थाका अनुसार आईएल–७६ का अन्य दुई विमानहरूमा भने पछि आगो सल्किएको थियो । पस्कोभ क्षेत्रमा यसअघि मे महिनाको अन्त्यतिर ड्रोन आक्रमण भएको थियो। रुसको मध्य मस्कोमा गत साता भएको ड्रोन आक्रमणमा परी तीन जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन्।

सेन्ट पिटर्सबर्ग सहर नजिकै युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको केही दिनपछि उक्त घटना भएको हो। सामाजिक सञ्जालमा साझा गरिएको र बीबीसीले विश्लेषण गरेका तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको थियो। यद्यपि युक्रेनले विशेष ड्रोन आक्रमण गरेकोबारे केही पनि बताएको छैन।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०५:५०

Leave a Reply