काठमाडौँ । कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेकाे हाे ।
सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालका अनुसार विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।
कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।
यसैगरी, काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।
कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिइन् । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ ।
त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उनले बताइन् ।
फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस
२३ माघ २०७८, आईतवार १२:४८