डा. युवराज संग्रौला ।
बाङ्लादेशको वर्तमान राजनीतिक परिवर्तन त्यहाँको जनताको आत्मनिर्णयको अधिकार हो, अन्य देशले सम्मान गर्नुपर्छ । तर आन्दोलनका गतिविधिहरुले ‘शंका पनि उब्जाएका छन् ।’ जुन व्यक्तिले स्वतन्त्रताको आन्दोलनको नेतृत्व गर्यो, उसमाथिको अभद्रताले यो आन्दोलन निश्कलंक देखिएन । हिजो, नेपालमा माओवादी आन्दोलनताका पृथ्वीनारायणको सालिक फुटाउने, मधेस आन्दोलनमा बिपीका सालिक फुटाउने काम भए । यी कार्य अभद्र थिए । राष्ट्रको इतिहासमा योगदान दिने व्यक्तिको अपमान ‘लोकतान्त्रिक आन्दोलन’ आन्दोलन हुन सक्तैन । सेख हसिनाको अधिनायकवादको विरोधका अतिरिक्त ‘बिदेशी खेल प्रष्ट देखिन्छ।’
१. नेपालमा परिवर्तनका लागि आन्दोलन गर्ने जनताको अधिकार हो । तर जुन तरिकाले बाङ्लादेशको आन्दोलनका अतिरिक्त एउटा अनिश्चित र अवान्छित अराजकताको आह्वान केही मानिस गरिरेहेका छन्, त्यो उचित छैन। जनताले भ्रष्ट शासनलाई मतपत्रबाट फ्याँक्ने व्यवस्था हामीसँग छ ।
२. नेपालमा यस किसिमको अराजकताको समर्थन गर्ने मानिस अरुबाट प्रयोग हुन सक्ने खतरा छ । भावनाको बेगले राष्ट्रमा राजनीतिक स्थायित्व आउँदैन । जुनसुकै किसिमको उद्देश्यहीन अतिवाद र अधिनायकवादका बीचमा भिन्नता हुन्न ।
३. दक्षिण एसिया भूराजनीतिको चपेटामा पर्ने संकेत देखिन थालेको छ । विश्वमा देखिन थालेको उत्तर र दक्षिण बीचको तनाव बांङ्लादेशमा पोखिएको छ । बाङ्लादेशमा हवाई अखडा दिन हसिनाले इन्कार गरिन्, बांङ्लादेश टुक्राउने खेल भए । तर भारतले यो कुरा बुझ्न सकेन र हसिनाले उनका पार्टी समर्थकलाइ मात्रै जनता देखेर ठूलो भूल गरिन् । अतिबुढेसकालमा मानिसको सुद्दी हराउँछ भन्ने उनका सहयोगीले बुझेर काम गर्न सकेनन् । उनलाई देवता बनाउन उनीहरु मस्त रहे । नेपाल यस अर्थमा फरक छैन ।
४. बाङ्लादेशमा आन्दोलनकारीले पनि विरोधी मारिरहेका छन् । भद्र मानिसको ज्यान खतरामा छ । हिन्दू अल्पसंख्यकमाथि अपराध भैरहेका छन् । थुप्रै मानिस भागिरहेका छन् । भारत हुँदै कतिपय मानिस नेपालमा शरणार्थी बन्ने संभावना पनि छ । यसले नेपालमा शरणार्थीको अर्को समस्या आउन सक्छ ।
५. सरकारले तत्काल नेपाल भारत सिमानामा परिचयपत्रको अवलोकन गरेरमात्र मानिस नेपाल पस्न सक्ने व्यवस्था गरोस्, करिव ६ महिनाको लागि ।
६. युवा तथा विद्यार्थीले बाङ्लादेशको घटनालाई ‘शतप्रतिशत’ समर्थन गर्नु र नेपाल त्यसैहोस् भन्नु मुर्खता हुनेछ । असफल नेताहरुलाई फ्याँक्ने नाममा देशको स्वाधीनता समाप्त हुन सक्छ। आँप झरेन भनेर बोटै काट्नु मुर्खता मात्र हुन्छ ।
मित्रहरू, दिगो परिवर्तनलाई विकासको खाका निर्माण गर्नुपर्छ । नयाँ घाँस उम्रिन्छ भनेर जंगलमा आगो लगाउंने मति छोडौं । विचारले विकासका कार्यक्रमको खाका बनाउँछ । त्यसैले ‘म एउटा मानिस खोजिरहेछु होइन, म एउटा विचार खोजिरहेछु’ गाउन थालौं । लि क्वानले होइन सिगांपुर बनाएको, उनको विचार र अठोटले बनाएको हो । नेपालको परिवर्तनले बाङ्लादेशको ढाँचा बोक्न सक्दैन ।