+

काठमाडौंको ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनःनिर्माण

४ भाद्र २०८१, मंगलवार ०८:२६

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर आठका दुई वटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि मंगलबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाको उद्घाटन गरेका छन् ।

यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो ।

शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो । स्थानीय पाका मानिसहरुका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ ।

२५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९ औँ शताव्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ ।
संयोजक संगतका अनुसार रावण पाटी पुनःनिर्माणको काम सुरु भइसकेको छ ।