गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लामो समय जाने बताएका छन् । प्रेस चौतारीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दुई दलमा मतभेद बढेर सरकार ढल्ने भन्ने हल्लामा सत्यता नभएको बताएका हुन् ।
उनले म्याजिक नम्बर भएको पार्टीले दुई ठूला दललाई पटक–पटक धोका दिएको र अब यो सरकार चुनावसम्म जाने मन्त्री गुरुङले बताए । उनले सरकार बन्ने दिनदेखि कसरी टिक्छ भन्ने प्रश्न आउनुमा पत्रकारितामा पनि कमजोरी रहेको बताए ।
उनले परराष्ट्रमन्त्री डा. आरजु राणाको भारत भ्रमणलाई लिएर नकारात्मक प्रचार गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘आरजु देउवा दिल्ली जानुभयो । ल अब केपी ओलीविरुद्ध आरजु देउवालाई उठायो भन्ने नेगेटिभ कुरा गर्छ । यो गलत प्रचार हो ।’
सरकारी सञ्चारमाध्यम राजा महेन्द्रकालीन ऐनबाट चलिरहेको र त्यसमा पनि आवश्यक संशोधन गर्ने योजना रहेको मन्त्री गुरुङले बताए ।
मन्त्री गुरुङले २ वर्षभित्र सरकारी काम डिजिटलाइज्ड गर्ने लक्ष्य रहेको तर एउटै मान्छे पूरा कार्यकाल मन्त्री हुन नसक्ने परिस्थिति भएकाले पूरा नहुन पनि सक्ने बताए ।
उनले लामो समयसम्म पनि गण्डकी प्रदेश सरकार विस्तार हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्थे अहिले गण्डकीमा भएको छ ।’ केन्द्रमा समीकरण परिवर्तन भएको लामो समय भइसक्दा पनि भागवण्डामा विवाद हुँदा गण्डकी प्रदेश सरकार विस्तार हुन सकेको छैन । उनले वर्तमान सरकारले प्रदेश प्रभावकारी बनाउने कानुन ल्याउने बताए ।