काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका नछोड्न आफ्ना सांसदलाई ह्विप जारी गरेका हुन्।
जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न कांग्रेसले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो । सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा नदिए महाभियोगको तयारी गरेका छन् ।
संविधानको धारा ९१ को उपधारा ६ ले सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था गरेको छ । जसमा पद अनुकूल आचरण नगरेको प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित भए पद रिक्त हुने व्यवस्था छ । नेकपा एमालेले यसअघिनै आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।