ह्यारिसलाई टेलर स्विफ्टको समर्थन

२६ भाद्र २०८१, बुधबार १५:२८

 

वासिङ्टन । सङ्गीत उद्योगको सबैभन्दा ठूलो ‘स्टार’ मध्येका एक टेलर स्विफ्टले राष्ट्रपति पदको बहस समाप्त भएलगत्तै उक्त पदका लागि कमला ह्यारिसलाई समर्थन गरेकी छन् ।

“मलाई लाग्छ कि उहाँ आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता हुनुहुन्छ र यदि हामी अराजकताको नभई शान्तिपूर्ण नेतृत्वमा भयौँ भने यस मुलुकमा धेरै नै हासिल गर्न सकिन्छ भन्ने मलाई विश्वास छ”, उनले  इन्स्टाग्राममा लेखेकी छन् ।

नोभेम्बरको निर्वाचनमा प्रमुख जनसाङ्ख्यिकीयका रूपमा स्विफ्टसँग युवा महिलाहरूमाझ समर्पित अनुयायी छन् । उनको पछिल्लो भ्रमणले टिकट बिक्रीमा एक अर्ब डलरभन्दा बढी कमाइ गरेको छ । आधा घन्टाको उनको पोस्टलाई २३ लाखभन्दा धेरै ‘लाइक’ प्राप्त भएको छ ।

उनले आफ्नो बिरालो बेन्जामिन बटनलाई समातेको एउटा तस्बिर समावेश गरिन् र ‘निःसन्तान बिरालो लेडी’ भन्ने सन्देशमा हस्ताक्षर गरिन् । उक्त टिप्पणी डोनाल्ड ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले गरेको तीन वर्ष पुरानो टिप्पणीका सन्दर्भमा आएको हो । भान्सले बच्चा नभएका महिलाहरूसँग मुलुकको भविष्यमा समान दाबी नहुने बताएका थिए ।
स्विफ्टले सन् २०२० मा डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई समर्थन गरिन् र तत्कालीन उपराष्ट्रपति माइक पेन्सविरुद्ध बहसमा ह्यारिसका लागि खुशी व्यक्त गरिन् । उनले ट्रम्पको खुलेआम आलोचना गर्दै भनिन्,“उहाँले श्वेत वर्चस्व र नस्लवादको आगो सल्काउनुभएको छ ।”

स्विफ्ट मुलुकभर विशेषगरी डेमोक्रेटहरूमाझ लोकप्रिय व्यक्तित्व हुन् । सन् २०२३ को अक्टोबरमा फक्स न्युजले गरेको सवेक्षणमा ६८ प्रतिशत डेमोक्रेटसहित समग्रमा ५५ प्रतिशत मतदाताहरूले स्विफ्टप्रति उनीहरूको दृष्टिकोण अनुकूल थियो भनेका छन् । सर्वेक्षणमा ४३ प्रतिशतको राय अनुकूल र ४५ प्रतिशतको प्रतिकूलसहित रिपब्लिकनहरू विभाजित रहेको देखिएको थियो ।