सहकारी ठगी प्रकरणः गोरखा मिडियाका पूर्वसंचालक जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

७ आश्विन २०८१, सोमबार १०:२९

गण्डकी । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका जोशीलाई सोमबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडियका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।