कसैले सोधौँ न हो-किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ ?

११ आश्विन २०८१, शुक्रबार ०५:३३

सुमना श्रेष्ठ
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी साथीहरू मलाई निरन्तर फोन/इमेल गरिरहनुभएको छ । अझै परीक्षाको समय निश्चित भएको छैन । मिति तोकिएका प्रवेश परीक्षाहरू फेरि स्थगित भएका छन् । विद्यार्थीहरू अब केही हुँदैन भन्ने निराशामा छन् । ’सदनमा बोले पनि केही हुँदैन ? अब विकल्प के हो ?’ भनेर पीडित विद्यार्थीहरू सोधिरहेका छन् ।
परीक्षा ढिलो हुनुमा सत्तारुढ काँग्रेस–एमालेकै विद्यार्थी संघठनहरूको झगडा मुख्य कारण बनेको छ । कसैले पनि यो समस्याको समाधान गर्न चाहँदैन किनभने यसले उनीहरूको ‘भविष्यको राजनीतिक सम्भावना’ अर्थात् ‘गुण्डागर्दी’लाई निस्तेज गर्नेछ । भोलि प्रोफेसर पिट्न र विद्यार्थीलाई चिट चोराउन होस् या असुली गर्न तिनै विद्यार्थी सङ्गठन चाहिन्छन् ।

कोलम्बिया विश्वविद्यालयमा प्रवचन दिँदै हाम्रा प्रधानमन्त्री भन्नुहुन्छ, ‘विश्वविद्यालय ज्ञानको मन्दिर हो।’ कसैले सोधौँ न हो – किन हाम्रा प्रधानमन्त्रीज्यू अमेरिकामा हुँदा मात्र विश्वविद्यालयलाई ज्ञानको मन्दिरको रूपमा देख्नुहुन्छ ? किन नेपालीका छोराछोरी पढ्ने नेपालका विश्वविद्यालयलाई राजनीतिक खेल मैदान बनाउनुहुन्छ ? किन विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आफ्ना आसेपासेहरूलाई नियुक्त गर्नुहुन्छ ? किन कलेजलाई ब्यारेक जस्तो बनाएर विद्यार्थीलाई कार्यकर्ता बनाउनुहुन्छ ? किन हो यो दोहोरो चरित्र ? प्रधानमन्त्रीज्यूको पाखण्ड र दोहोरो चरित्र छर्लङ्ग छ ।

प्रधानमन्त्रीज्यू ! तपाईँले विद्यार्थीको पढ्न पाउने हक बन्धक राखेर कृषि औद्योगिकीकरण गर्न सक्नुहुन्न है । न त तपाईँले विद्यार्थी–विद्यार्थीबीच घृणा फैलाएर विश्वविद्यालयलाई ज्ञानको मन्दिर बनाउन सक्नुहुन्छ। खोजेको के हो ? के तपाईँ आफ्ना विद्यार्थीहरूका समस्याप्रति चासो राखेर समाधान गर्न सक्नुहुन्न ? की समाधान चाहनुहुन्न ? शिक्षामन्त्री र गृहमन्त्रीलाई पनि मेरो प्रश्नः विद्यार्थी–विद्यार्थी लडाइराख्नु, पढ्ने–पढाउने माहौल बनाउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आदेश नै छ कि, तपाईँहरूलाई पनि बालै मतलब नभाको हो ?