‘विपद् व्यवस्थापनका प्रभावकारी उपाय’ भनेर लामालामा सैद्धान्तिक लेख लेख्ने ‘ब्युरोक्रेट’ यो विपद् प्रतिकार्य व्यवस्थापनमा कहाँ थिए ?

१४ आश्विन २०८१, सोमबार ०६:३७

काठमाडौं । रौतहटका राज साह ललितपुरको नख्खु खोला किनारमा ग्रिल पसल संचालन गर्दै आएका थिए । बिहीबार रातिदेखि देशभर भारी वर्षा भइरहेको थियो । शनिबार बिहान ५ बजेतिर उनीहरू बसेको टहरोमा पानी पस्यो । ललितपुर महानगरपालिका वडा नम्बर १४ र २५ को बीचमा पर्ने उनको टहरो नख्खु खोलाबाट पचास मिटर टाढा थियो । । उनको साथमा दुई छोरी पनि थिए । उनी छोरीहरुलाई राम्रो शिक्षादीक्षा दिन गाउँबाट ल्याएर सँगै राखेका थिए । टहरोमा खोलाले घेरेपछि उनले उद्दारका लागि हारगुहार गरे । उनले प्रहरीको एकसय नम्बरमा पनि फोन गरे । वडाध्यक्षले पनि उनको उद्दारका लागि सरकारसँग हारगुहार गरे । उनले सामाजिक संजालमा लाइभ गरेर उद्दारका लागि आग्रह गरेका थिए ।

स्थानीयले डोरी ल्याएर क्रेटमा बाँधेर दिएका पनि थिए । चार घण्टासम्म सरकारी निकायबाट उनको उद्दारमा कुनै पहल भएन । अन्ततः स्थानीयले दिएको डोरीको सहायतामा निस्कन खोज्दा राजु, उनका दुई छोरी र एकजना उनका साथी देबराज बाढीमा बगे । राजुले जेठी छोरी र राजले कान्छी छोरी समाएका थिए । राजु सात सय मिटर बगेपछि छोरीसहित बाहिर निस्कन सफल भए । तर देवराज र कान्छी छोरीलाई भने बाढीले बगायो । उनीहरु अहिले पनि बेपत्ता छन् ।

त्यस्तै धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा एउटा बस र दुईवटा माइक्रोबस भेटिए । त्यहाँबाट ३५ जनाको शव निकालिएको छ । एकसाताअघि नै मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने भन्दै चेतावनीयुक्त सूचना प्रवाह गरिरहेको थियो । त्यसपछि सरकारले दुई दिन रात्रीकालीन बस संचालनमा रोक पनि लगाएको थियो । यदि स्थानीय तहले मौसमपूर्वानुमान महाशाखाको चेतावनीलाई मानेको भए आज न नख्खुखोलामा राजकी छोरी र उनका साथी बेपत्ता हुनुपथ्र्यो न त झ्याप्लेखोला दुर्घटना नै ।

गृह मन्त्रालयले रातिको समयमा नारायणगढ–मुग्लिङ र मुग्लिङ–काठमाडौं सडकखण्डमा राति सवारी नचलाउन दिएको निर्देशन पालना नहुँदा झ्याप्लेखोला दुर्घटना भयो । त्यस्तै महाशाखाको भारीदेखि अतिभारी वर्षा हुने सूचनापछि स्थानीय तहले तटीय क्षेत्रका बासिन्दालाई त्यहाँबाट हटाएको भए आज यति ठूलो मानवीय क्षति हुने थिएन । अनि राजधानीमा उद्दारका लागि घण्टौं हारगुहार गर्दा पनि उद्दार हुन नसक्दा यतिबेला सरकारप्रति आक्रोश बढेको छ । नेतादेखि, सर्वसाधाराणले सरकारको नालायकीपनका कारण यस्तो भन्दै आलोचना गरेका छन् । अरु त अरु सत्तारुढ दलका नेताबाटै उद्दारमा सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

संसदको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ । जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उसको ठहर छ ।

संविधानविद डा. भीमार्जु आचार्यले विपदमा सरकारको उपस्थिति नहुनु लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘यसपटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समयमै दिएका थिए । यसका बाबजुत सरकारको जिउँदो उपस्थिति कहीँकतै देखिएन । बुवाको तिथिका लागि सडकमार्गबाट दाङ आएको छु । नारायणगढ बुटवलखण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन । विपत–संयमता अपनाउ तर अब नसहौं।’

राजनीतिक विश्लेषक डम्बर खतिवडा देशको हालत दुई दिनको झरीले छर्लङ्ग पारेको बताएका छन् । उनी भन्छन्, ‘अव्यवस्थित बसोबास र शहरीकरण कति घातक हुन्छ, आज हैन, दशकौदेखि पुष्टि हुँदै आएको हो । लुटेरा शासक र राज्यले यो सवाललाई कहिल्यै महत्व दिएनन् । सरकार बनाउने ढाल्ने, ठगी र भष्टाचारको वर्ल्ड रेकर्ड तोड्नेबाहेक अरु कुनै काम नभएकाबाट शासित देशको हालत दुई दिनको झरीले छर्लङ्ग पार्याे।’

नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेल विपदमा समन्वय र व्यवस्थापन मिलाईदिने राजनीतिक नेतृत्वको अभाव देखिएको बताउँछन् । उनको टिप्पणी छ, ‘विज्ञले तीन हप्तादेखि प्रक्षेपण गर्छन् । आरीघोप्टे वर्षाको तीन दिन अघिबाट व्यापक प्रचारप्रसार हुन्छ । प्रधानमन्त्री, अर्थ र परराष्ट्र तीनजना मन्त्री विदेश घुम्दैछन् । राजधानी छिर्ने नाकामा तीन दर्जन नागरिक, ३ वटा सवारी साधन पहिरोले पुरिन्छन् र तीन दिनपछि थाहाहुन्छ । श्री पशुपतिनाथले देश र सरकारको रक्षा गरून् । सुरक्षाकर्मीहरूले आफूसँग भएको क्षमता र साधनस्रोत अनुसार गरेका छन् । समन्वय र व्यवस्थापन मिलाईदिने राजनीतिक नेतृत्वको अभाव भयो ।’

पूर्वसभामुख दमननाथ ढुंगाना यसबाट सरकारले पाठ सिक्ला र के योजना बनाउला भन्ने हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अतिवर्षाको कारण देशमा आपतकालीन सरहको अवस्था यसपटक अझ चर्कियो । ठूलो संख्यामा जनधनको क्षति भयो । आवागमन बन्द भए । यसबाट के पाठ पढ्ला सरकारले ? के योजना होला अर्को वर्षका लागि ?’

सामाजिक संजालमा सक्रिय डा. रामेश कोइराला सरकारले पूर्वतयारीमा ध्यान नदिँदा ठूलो धनजनको क्षति भएको बताउँछन् । उनको प्रश्न छ, ‘हप्ताअघि नै थाहा भएर पनि– स्थानीय पालिकाले बाढीपहिरो जोखिम क्षेत्र पहिचान गरेर जनतालाई समयमै सुरक्षित स्थानमा सार्यो ? प्रदेश र संघले उद्धारको पर्याप्त तयारी गरे ? –रात्रीबस बन्द, धान नकाट्ने कटवाली र सतर्क रहने कर्मकाण्डी सूचनालाई खोया तयारी भन्नु ? अनि जनतालाई चैँ थाहा थिएन ?’

झ्याप्लेखेला दुर्घटनालाई लिएर सरकारले धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ । तर पूर्वतयारीमा उनीहरु मात्रै चुकेका हुन् कि तीनै तहका सरकार ? ‘विपद् व्यवस्थापनका प्रभावकारी उपाय’ भनेर लामालामा सैद्धान्तिक लेखहरू लेख्ने र यही रटेर लोकसेवा पास गर्ने ‘ब्युरोक्रेट’को क्षमता कति देखियो त यो विपद् प्रतिकार्य व्यवस्थापनमा ?