इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन् । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेमन थिए ।
उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार खर्च गरेका थिए । उनले भने, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’
बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।
कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ ।’