
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् ।
आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए) स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको प्रचण्डलाई जवाफ दिएका हुन् ।
उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रधानमन्त्रीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए ।
उनले भने,‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’
शनिबार पार्टीले आयोजना गरेको खबरदारीसभामा प्रचण्डले हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे ।