+

रुबी खानसँग सरकारले गर्यो तीन बुँदे सहमति

१३ कार्तिक २०८१, मंगलवार ११:४०

काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनरत अधिकारकर्मी र गृह मन्त्रालय बीच सहमति भएको छ । निर्मला कुर्मी अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान सम्बन्धि जाहेरीको विषयलाई लिएर गत साउन २५ गते देखि आन्दोलनरत रुबी खान सहितको समूह र गृह मन्त्रालयका प्रतिनिधिबीच मंगलबार तीन बुँदे सहमति भएको हो ।

निर्मला कुर्मीको अपहरण शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरी सँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्ष बीच मिति २०८१ आषाढ १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई पत्राचार गर्दे सहमति भएको हो ।

विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानको लागि आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाईनेछ ।

निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि चार पटक सहमति गरिसकेको छ । तर अदालतसम्म मुद्दा नपुर्याएको भन्दै उनीहरु फेरि आन्दोलित भएका थिए । उनीहरुले सोमबार र मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामासमेत धर्ना दिँदै ध्यानकर्षणपत्र बुझाएका थिए ।

निर्मला कुर्मी बेपत्ता प्रकरणमा कांग्रेस लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी संलग्न रहेको उनीहरुले बताउँदै आएका छन् । गृह मन्त्रालयले बनाएको जाँचबुझ समितिले पनि उनको भूमिका शंकास्पद रहेको बताएको छ । तर, प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएको भन्दै रुबी खानको समूह असन्तुष्ट बनेको छ ।