विजयकुमार पाण्डे ।
हिजो एक सामाजिक आयोजनमा भेटिए नेपालका लागि चीनका राजदूत चेन सङ । उभिँदा उभिँदै मैले राजदूत चेनसँग दुई तीन प्रश्न सोधें । हालै BRICS सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री मोदीबीच भएको समझदारी बारे । नेपाल चीन सम्बन्ध बारे । प्रधानमन्त्री ओलीको चीन भ्रमणका समाचार बारे । चीनको नेपालसित अपेक्षा बारे ।
म पहिलो पटक चीन सन् ‘९० को दसकमा गएको थिएँ । तत्कालिन राजा वीरेन्द्रको भ्रमण दलमा टेलिभिजन रिपोर्टरका रुपमा । ज्याङ जमिन चीनका राष्ट्रपति थिए । राजा वीरेन्द्रको भव्य स्वागत भयो । ती दिनहरु नै, चीनको चामात्कारिक आर्थिक उदयका लक्षण देखिन थालीसकेका थिए । त्यो चमत्कारको सुत्रधार राजनेता देङ सियाओ पेङ जिवित थिए तर धेरै सक्रिय थिएनन् ।
देङका केही भनाई रोचक छन । हाम्रो सन्दर्भमा आज पनि काम लाग्ने छन । जस्तै- ‘बिरालो कालो हो कि सेतो हो ? त्यसले फरक पार्दैन । बिरालोले मुसा मार्छ कि मार्दैन ? मुख्य कुरा त्यो हो ।’
संयोगवश अब केही दिनमा अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ । म स्वयं अमेरिकामा पढेको विधार्थी हु । हयुबर्ट हम्फ्री फेलो भएका नाताले मेरो शैक्षिक प्रमाणपत्र अमेरिकी राष्ट्रपति (हाम्रो पालामा बिल क्लिन्टन) द्वारा हस्ताक्षरित छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा यसअघि, यति धेरै तिक्कता , अभद्रता, गालीगलौच , तनाव पहिला कहिल्यै भएको थिएन । दुःख लाग्छ । तर चीनका नेता देङ सियाओ पेङका शब्दले सान्त्वना लिन्छु ।
देङले कटाक्ष गर्दै भनेका थिए – ‘अमेरिकी राष्ट्रपतिले निर्वाचन अभियानको दौरानमा एउटा कुरा भन्छन् । कार्यकाल सुरु गर्ने बेला अर्को कुरा भन्छन् । कार्यकालको मध्यमा पुग्दा अर्कै कुरा भन्छन् । अनि अफिस छोडने बेला, अर्कै नयाँ नौलो चौथो कुरा गर्छन्…..’
देङको ठट्टाको कटाक्ष नै सम्झेर कि किन नहोस्, म आशा गर्दैछु , अमेरिकामा चुनाव जसले जिते पनि, निर्वाचनको बेला गरिएका गाली गलौच, अभद्रताको श्रृंखला , नयाँ राष्ट्रपतिले पद सम्हालेपछि अमेरिकामा कायम रहने छैनन् ।
यता नेपालमा रातदिन मुखले ’समाजवाद समाजवाद ’ फलाक्ने नेपाली नेता र त्यो गफ पत्याउने हामी जनताका लागि पनि काम लाग्ने एउटा महावाक्य छ चिनियाँ नेता देङ सियाओ पिङको ।
देङले भनेका थिए– ‘समाजवाद भनेको गरिबी होइन । समृद्ध बन्नु गौरवशाली हो । Poverty is not socialism = To be rich is glorious.’
व्यक्तिगत रुपले भन्ने हो भने एक अध्यात्मिक साधकका रुपमा , मलाई आज पनि चिनियाँ समाजलाई ठूलो प्रभाव पार्ने दुई पौराणिक दार्शनिकहरु– कन्फुसियस र लाउत्सेमा ठूलो रुचि छ । अझ विशेष गरि लाउत्सेका प्रति मेरो मन आर्कषण धेरै छ । हजारौं वर्षपछि पनि, जीवन र जगतकाप्रति उनी जस्तो गहिरो दृष्टिकोण थोरैको होला । लाउत्से बारे लामो लेख्ने मन थियो । तर आज कामको चटारो छ ।
जाँदैजाँदै, हिजो संयोगवश भेटिएका राजदूत
@PRCAmbNepal
सँगको छोटो तर अर्थपूर्ण वार्ता शेयर गर्न चाहें ।
‘ महामहिम चेन तपाईंले हालै सम्पन्न BRICS सम्मेलनमा चीनका राष्ट्रपति सी र भारतका प्रधानन्त्री मोदीबीच भएको समझदारीलाई कसरी लिनु भएको छ ?’
‘हामीले यसलाई एक सकारात्मक र स्वागयोग्य कदमका रुपमा लिन्छौ । यसको प्रभाव चीन र भारतको द्धिपक्षीय सम्बन्धमा त पर्ने नै छ । त्यसबाहेक हाम्रो क्षेत्र , एसिया, ग्लोबल साउथ र विश्वका लागि पनि यो समझदारी महत्वपूर्ण र स्वागत योग्य कदम हो ।’
‘नेपाल चीन सम्बन्धहरु कसरी विकसित हुदै गएका छन ?’
-‘हाम्रा सम्बन्धहरु व्यापक छन् । बहुआयामिक छन् । आगामी दिनहरुमा झन्झन् विकसित हुँदै जाने विश्वास छ मलाई ।’
‘के निकट भविष्यमा नै , हाम्रा प्रधानमन्त्री केपी ओलीजी चीन भ्रमणमा जान थाल्नु भएको हो ? भ्रमणको तयारीबारे केही बताउनु हुन्थ्यो कि ? ‘
‘यस बिषयमा तपाईंले नेपाली पक्षलाई सोध्नु भए बढी राम्रो हुनेछ ।’
‘नेपाल र चीनबीच लामो कालदेखि मित्रवत सम्बन्ध रहेका छन् । तपाईंको नजरमा, सम्बन्धहरुलाई थप परिणाममुखी बनाउन, नेपालबाट तपाईले के अपेक्षा गर्नुहुन्छ ? नेपालले के गरेदेखि राम्रो हुने थियो ? तपाईंहरुको अपेक्षा के हो ?’
‘Consistency’ राजदूत चेनले एक शब्दमा गहिरो जवाफ दिनुभयो ।
‘Consistency’ शब्दको अर्थ हुन्छ स्थिरता ।
नेपालका नीतिहरुमा स्थिरता छैन भनेर राजदूत चेन सङले मुखले भन्नु भएन । तर धेरै नभनिकन पनि उहाँले त्यो एक शब्दबाट धेरै भन्नु भयो । मुस्कुराउँदै बिदा हुनुभयो ।
-वरिष्ठ पत्रकार विजयकुमारको फेसबुकबाट