+

जापान मानव तस्करी प्रकरणमा नक्कली कागजात बनाउने दुईजना पक्राउ

२७ कार्तिक २०८१, मंगलवार १०:५६

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीले जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा खोटाङका नवीन राई र गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । उनीहरुले खोटाङको ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ का वडा सदस्य र कोशीकाको कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका नौजनाविरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।