+

फार्मेसी सञ्चालकलाई हनीट्रयापमा पारेको आरोपमा भक्तपुरबाट तीन जना पक्राउ

१२ मंसिर २०८१, बुधबार १२:५८

काठमाडौं । प्रहरीले फार्मेसी सञ्चालकलाई हनीट्रयापमा पारेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाम घर भएर भक्तपुरको नयाँथिमी बस्ने २५ वर्षीया समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका घर भएर स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र २५ वर्षीया वर्षा दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरुले भक्तपुरस्थित राधेराधे नजिकै डेरामा बोलाएर ३३ वर्षीय युवकलाई हनीट्रयापमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दीपेन्द्र र वर्षा दाजुबहिनी हुन् । दीपेन्द्र यसअघि कर्तव्य ज्यान मुद्दामा २०७१ मा पक्राउ गरी सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

फार्मेसी सञ्चालकले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिएर घरमा ‘ड्रेसिङ सेवा’ दिँदै आएका थिए । अनलाइनमा सम्पर्कमा आएकी वर्षाले फार्मेसी सञ्चालकलाई खुट्टाको घाउ ड्रेसिङ गर्न भन्दै डेरामा बेलाएकी थिइन् । फार्मेसी सञ्चालक स्कुटर लिएर राधेराधेस्थित वर्षाको डेरामा पुग्छन् । डेरामा पुगेपछि वर्षाले ती युवालाई एक बुढी आमाको घाउ ड्रेसिङ गर्ने भन्दै कोठामा रोकेर राख्छिन् ।

उनीहरू कोठामा बसिरहेकै बेला बाहिरबाट समृद्धि आउँछिन् र आफ्नो नन्द वर्षालाई बलात्कार गर्न खोजेको भन्दै आरोप लगाउन थाल्छिन् ।फार्मेसी सञ्चालक डराएर त्यहाँबाट भाग्छन् । वर्षाले योजनाबद्ध ढंगले दीपेन्द्र र समृद्धिलाई लिएर फार्मेसीको ठेगानामा पुगेर रकम बार्गेनिङ गर्न शुरू गर्छिन् ।

शुरूमा त फार्मेसी सञ्चालकले आफ्नो कुनै गल्ती नभएको बताउँछन् । तर, प्रतिष्ठामा आँच आउने देखिएपछि उनी ८ लाख रूपैयाँ दिन सहमति गर्छन् । रकम पुरै नदिँदै फार्मेसी सञ्चालकले प्रहरीमा खबर गर्छन् । त्यसपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पीडितबाट आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको कार्यालयले जनाएको छ ।