काठमाडौँ । इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्याण्डको चियाङ–माइ प्रस्थान गर्नेभएको छ ।
यही नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारीले जानकारी दिनुभयो । महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् ।
प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आइटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आइटीओ हुन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच आज बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले आसन्न २०औँ एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेस गर्न निर्देशन दिए ।