+

नेपाल र चीन सरकारबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

१९ मंसिर २०८१, बुधबार ०७:२३

काठमाडौं । नेपाल र चीन सरकार बीच बेल्ट एवं रोड इनिसिएटिभ(बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा चीन भ्रमणमा रहेका बेला बुधबार  नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले सम्झौतामा हस्ताक्षर गरेका छन्।

फ्रेमवर्कमा नेपालले ऋणको साटो अनुदानको प्रस्ताव गरेको थियो । तर चीनले अनुदानको नेपालको प्रस्तावलाई अस्वीकार गरेको बताइएको थियो । अहिले हस्ताक्षर भएको विषयको विस्तृत विवरण भने खुलाइएको छैन ।

यसअघि दुई देशबीच मंगलबार विभिन्न नौ विषयमा सम्झौता भएको थियो । तर बीआरआईमा सम्झौता भएको थिएन । बीआरआईमा सम्झौता नभएपछि विपक्षी दलले प्रधानमन्त्रीको चीन भ्रमण असफल भएको भन्दै आलोचना गरेका थिए ।

मंगलबार दुई देशबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदानका साथै भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।

त्यस्तै विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको छ भने स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै चीनले नेपाललाई नौ अर्ब बराबरको अनुदान सहायताको घोषणासमेत गरेको छ ।