+

अमेरिकामा अब टिकटक नचल्ने

५ माघ २०८१, शनिबार १२:३९

बीबीसी । टिकटकले उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा नचल्ने बनाउन बाध्य हुने बताएको छ ।

शुक्रबार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले ‘टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको’ आरोप लगाएको छ ।

उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘जनवरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको छ ।

शुक्रबार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो ।

गतवर्ष अप्रिलमा पारित भएको उक्त कानुनले बाइटड्यान्सको अमेरिकी संस्करणलाई त्यहाँकै कम्पनीलाई बिक्री गर्न वा पूर्ण रूपमा प्रतिबन्धको सामना गर्न बाध्य पार्छ ।

टिकटकले उक्त कानुनलाई अदालतमा चुनौति दिँदै अमेरिकी प्रयोगकर्ताको वाक् स्वतन्त्रताको उल्लङ्घन हुने तर्क गरेको थियो । तर सर्वोच्च अदालतको आदेशको अर्थ आगामी दिनमा अमेरिकी खरिदकर्ता नभेटिएसम्म एपको अमेरिकी संस्करणलाई एप स्टोर तथा वेब होस्टिङ सेवाबाट हटाउनु पर्छ भनेको छ ।

यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ । शुक्रबारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको छ ।