+

विराट क्यान्सर इन्स्टिच्युटमा एक हजार विरामीले लिए रेडिएसन थेरापी सेवा

१४ माघ २०८१, सोमबार ०६:१८

विराटनगर । मोरङको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले आफ्नो रेडिएसन थेरापी विभागमा एक हजार बिरामीलाई सेवा प्रदान गरेको जनाएको छ ।

२०८० वैशाखदेखि हालसम्म यो सेवा लिनेहरूको संख्या एक हजार पुगेको हो । इन्स्टिच्युटका अनुसार अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट मेसिन र दक्ष प्राविधिकहरूको सहयोगमा सहुलियत दरमा गुणस्तरीय उपचार दिइँदै आएको छ। विशेषज्ञ चिकित्सक डा.अस्मिता रायमाझी र डा.विवेक घोषको टोलीले सेवा प्रदान गरिरहेको छ।

भारतको बिहार, पश्चिम बंगाल तथा नेपालको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेको इन्स्टिच्युटले जानकारी दिएको छ। रगत बाहेकका सबै प्रकारका क्यान्सरको रेडिएसन थेरापीबाट उपचार गरिँदै आएको छ।

करिब १ अर्ब ५० करोड रुपैयाँको लागतमा सुरु गरिएको यस सेवामा २५ हजारदेखि १ लाख ९५ हजार रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ। हालसम्म उपचार गरिएका बिरामीहरूमध्ये ८० देखि ९० प्रतिशतमा सफल उपचार भएको दाबी गरिएको छ।

इन्स्टिच्युटले यती एयरलाइन्ससँगको सहकार्यमा टाढाका बिरामीहरूलाई निःशुल्क हवाई टिकट सुविधा पनि प्रदान गर्दै आएको छ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी बिराट क्यान्सर इन्स्टिच्युटमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी, टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टिक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन हुँदै आएको छ ।

यसैगरी, प्रिभेन्टिभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविद्द्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् । आगामी दिनमा ’पेट सीटी स्क्यान’ सेवा थप गर्ने योजना रहेको इन्स्टिच्युटले जनाएको छ।