
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नै पार्टी राजनीतिमा सक्रिय भइहाल्ने बेला नभएको बताएकी छन् ।
सोमबार विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले अहिलेको अवस्थामा देशमा शान्ति, स्थायित्व र दिगो विकासको लागि आफू सक्रिय रूपमा शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा उपस्थिति देखाएको बताइन् ।
पार्टीमा आबद्ध हुने नहुने, कुन पार्टीमा हुने भन्ने कुरा फरक विषय भए पनि राजनीतिबाट कोही अछुत नभएको उनले बताइन्। उनले राजनीति भन्दा कोही टाढा नहुने भएकोले ढिलो चाँडो एमालेमै फर्किने बताइन् ।
उनले हिजो पनि एमालेमा नै जन्मिएको, हुकेको, बढेर यहाँसम्म ल्याएकोले फेरि पनि त्यहीँ फर्किने उनको भनाई थियो ।
उनले भनिन्, ‘नेपालको हितको लागि के के गर्नुपर्छ, त्यसको राष्ट्रिय एजेन्डाहरूमा मेरो चासो हुने नै भयो । मैले जलवायु परिवर्तनको कुरा गरिरहेको छु, म युवा वैज्ञानिकहरूसँग भेट गरिरहेको छु भने त्यसलाई तपाईँहरू कसरी बुझ्नुहुन्छ?’
उनले देशको स्थायित्व, शान्ति र प्रगति होस् भन्ने कुरामा आफूले चासो राखेको बताइन् । उनले भनिन्, ‘वर्गीय, शोषण, श्रमको विरुद्धमा हिजोदेखि नै लागेकोले देशको समग्र विकासको लागि लाग्छु । जहाँसम्म दलीय रूपमा रहेर जिम्मेवारी लिने की नलिने भन्ने कुरामा अहिलेसम्म म प्रवेश गरिसकेको छैन ।’