
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको १६ बैठकले गरेको निर्णय अनुसार आठौँ तह बराबरको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आयोगको गत माघ २५ गते बसेको बैठकले गरेको निर्णय बमोजिम निर्वाह भत्ता दिन आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिए सरह स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता उपलब्ध गराउन सम्बन्धित विश्वविद्यालय र अन्तर्गतका सम्बन्धन प्राप्त निजी मेडिकल कलेजलाई निर्देशन दिने भनेर प्रष्ट रूपले उल्लेख गरिएको छ। उक्त निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह रकम सम्पूर्ण आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दछौं ।’