
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत कानुन संकायमा बी.ए एलएलबी अध्ययनरत विद्यार्थी तथा विद्यार्थी संगठनका प्रतिनिधिहरू र विश्वविद्यालय प्रशासनबीच उत्पन्न समस्या समाधानका लागि भएको वार्ता सफल भएको छ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन इकाई, सूर्यविनायक–५, कटुन्जे, भक्तपुरमा सम्पन्न उक्त वार्तामा कानुन अध्ययन हुने चक्रवर्ती हवि एजुकेसन एकेडेमी (कलेज अफ ल), बिजुलीबजार, काठमाडौं स्कुल अफ ल, भक्तपुर, पुर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगर र ब्राइट भिजन कलेज अफ ल, विराटनगरमा बी.ए एलएलबी प्रथम वर्षदेखि पाचौं वर्षसम्म अध्ययनरत विद्यार्थीहरूले २२ गते र अखिल क्रान्तिकारी चक्रवर्ती ल कलेज कमिटी र अखिल क्रान्तिकारी केन्द्रिय समितिले २३ र २४ गते विश्वविद्यालयमा बुझाएको मागपत्रका विषयमा सात बुँदामा सहमति भएको छ।
पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट सह–परीक्षा नियन्त्रक मेनुका श्रेष्ठको संयोजकत्वमा, उप–प्राध्यापक दीपक कुमार खतिवडा र मुख्य अधिकृत विनय भट्टराई सदस्यको रूपमा सहभागी थिए। विद्यार्थी पक्षबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य शम्भु पन्त, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिनव सिंह राठौर साथै विद्यार्थी प्रतिनिधिहरू दिर्ख बहादुर रोकाया र टोपराम उपाध्याय सहभागी थिए।
उक्त सहमतिबाट प्राप्त उपलब्धीलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पन्तले ‘आधा गिलास पानी’ को संज्ञा दिए ।त्यसलाई पूर्ण उपलब्धि मान्न नहुने उनले बताए । ‘अहिलेको वार्ताबाट पाएको उपलब्धिहरू आधा गिलास पानी सरह हो। एक दृष्टिकोणले हेर्दा त्यो आधा भरिएको देखिन्छ, अर्को दृष्टिकोणले हेर्दा आधा खाली। यसले संकेत गर्छ कि अहिले हामीले वार्ताबाट गरेका निर्णयहरू जम्मा ५० प्रतिशत मात्र उपलब्धि हुन्। बाँकी ५० प्रतिशत तब मात्र हुनेछ जब ती निर्णयहरू पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदबाट पारित हुन्छन्,’– उनले भने ।
उनले यो आन्दोलनलाई व्यक्तिगत वा संगठनको प्रचारप्रसारको माध्यम नबनाई विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न गरिएको साझा प्रयासको रूपमा चित्रण गरे। ‘पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरूले उठाएका मागहरू प्राज्ञिक परिषदबाट पारित नभएसम्म, म र मसँग जोडिएका साथिहरू, साथै अखिल क्रान्तिकारी चक्रवर्ती कलेज कमिटी र केन्द्रिय समितिले समर्थन र ऐक्यबद्धता बाहेक अन्य कुनै पनि क्रेडिट लिने नैतिक अधिकार राख्दैनौं,” पन्तले भने, “हामी विद्यार्थी नेता भएर होइन, विद्यार्थीहरूको सहयात्री र आवाज बनेर अघि बढेका हौं ।”
उनले संगठन र स्वार्थभन्दा माथि उठेर साझा मुद्दाका पक्षमा लड्न सकिने उदाहरण यस संघर्षले देखाएको दाबी गरे। यस संघर्षमा संगठनभन्दा माथि उठेर विद्यार्थी अधिकार र हकहितका लागि निरन्तर आवाज उठाएका सबैप्रति उच्च सम्मान, प्रशंसा र आभार व्यक्त गरे। विशेष रूपमा काठमाडौं स्कूल अफ लका विद्यार्थी नेता शहर्ष पौडेल, चक्रवर्ती ल कलेजका विद्यार्थी नेताहरू सुजन मग्राती, दीर्घ बहादुर रोकाया, प्रविन्द्र चौलागाईं, तथा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरका विद्यार्थी नेताहरू घनश्याम यादव, मो। राजअली राईन, आरती यादव, निकेश भट्टराई लगायत सम्पूर्ण विद्यार्थीहरूलाई उनले विशेष धन्यवाद दिए। त्यस्तै, विश्वविद्यालयलाई निरन्तर दबाब दिएर वार्ताका माध्यमबाट विद्यार्थीका माग सम्बोधन गराउन भूमिका खेलेका अखिल (क्रान्तिकारी) का निवर्तमान सचिव बाल कुमार केसी, केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटा, उपाध्यक्ष विराज थापा र सन्दिप पुन, महासचिव रोशन थापा मगर, र सचिव अमर मण्डलप्रति समेत पन्तले विशेष आभार व्यक्त गरे।
यस संघर्षलाई विद्यार्थीहरूको ऐक्यबद्धता र सहकार्यबाट अघि बढाइएको सशक्त अभियानको रूपमा लिँदै पन्तले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी प्रतिनिधिहरू निगरानी भूमिका निर्वाह गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछन्। साथै माथी उल्लेखित सहमतिको निगरानी निरन्तर गर्ने र कार्यान्वयनमा कुनै ढिलाइ भएमा थप चरणबद्ध आन्दोलनको विकल्प खुला रहेको चेतावनीसमेत दिएका छन्।
यस्ता छन् सहमतिका बुँदाहरुः
- बि.ए.एलएल बि अन्तिम वर्षको नियमित परीक्षामा अनुर्तिण भएका विद्यार्थीहरूका लागि मौका परीक्षा (Chance Exam) को अवसर दिने, जसमा २०७६ व्याचमा भर्ना भई २०८१ मा पाँचौ वर्षको परीक्षा दिएका विद्यार्थीहरू समेटिने व्यवस्था गरिने।
- परीक्षा सम्पन्न भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा नतिजा प्रकाशित गर्नपर्ने मागमा, बि.ए.एलएल बि चौथो र पाँचौं वर्षको नतिजा नेपाल बार काउन्सिलको परीक्षा फारम खुल्नु भन्दा अगाडि नै प्रकाशित हुने सुनिश्चितता गर्न आवश्यक संयन्त्र निर्माणको सिफारिस गरिने।
- बि.ए.एलएल बि प्रथम वर्षको भर्ना भएर २०८१ सालको साउन–भदौ महिनामा शैक्षिक सत्र सुरु भई २०८२ फागुन–चैत महिनामा परीक्षा, र २०८३ पुस–माघ महिनामा मात्र नतिजा प्रकाशन (कुल २१ महिना अध्ययन तथा परीक्षा, त्यसपछि एक वर्षपछिको नतिजा) जस्तो अनौठो र लज्जास्पद वार्षिक कार्यप्रणाली सुधार गर्दै प्रथम वर्षदेखि पाँचौं वर्षसम्मको शैक्षिक सत्र वार्षिक ढाँचामा ११ महिनाभित्र परीक्षा सम्पन्न हुनेगरी डीन कार्यालयबाट क्यालेन्डर निर्माण गरी कार्यान्वयन गरिने।
- अंक पुनरगणना (Re-totaling)का लागि निवेदन दिने समयसीमा ३५ दिनबाट घटाई २१ दिन कायम गरिने र त्यसको नतिजा निवेदन अन्तिम मिति सकिएको ३० दिनभित्र प्रकाशन गरिने।
- वार्षिक परीक्षामा सोधिने प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध गराउने व्यवस्था गर्न विश्वविद्यालय समक्ष सिफारिस गरिने।
- शैक्षिक सत्र, परीक्षा र नतिजा प्रकाशन प्रक्रिया कोभिड-१९ महामारीपूर्वको अवस्थामा फर्काउने र आगामी वर्ष देखि पाँचौं वर्षको परीक्षा जेठ/असार मसान्तसम्म सञ्चालन गरि दशैंअघि नै नतिजा प्रकाशन गरिने व्यवस्था लागू गरिने।
- अन्य वर्षका परीक्षाहरू पनि दशैंअघि परिक्षा सम्पन्न गराई छिटोभन्दा छिटो नतिजा प्रकाशित गरिने।