
काठमाडौँ । सांसदहरुले नेपालमा भएका काठको सदुपयोग नगरी विदेशबाट काठ आयात गर्न नहुनेमा विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकका विषयमा छलफलमा भाग लिँदै सांसद देवप्रसाद तिमल्सिनाले नेपालका राम्रा काठ सदुपयोग नभई मलेसियादेखि काठ ल्याउनु उपयुक्त नभएको बताए । उनले पहाडी जिल्लामा रहेका अदालतका जीर्ण भवन निर्माणका लागि बजेट विनियोजन नभएकामा पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद नारायणप्रसाद आचार्यले तीन वटै तहका सरकारको समन्वयमा बजेट खर्च गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । सांसद सूर्यमान तामाङ (दोङ) ले रासायनिक मलमा चालु आर्थिक वर्षभन्दा आगामी वर्षका लागि १८ करोड कम गरेको उल्लेख गरे ।
सांसदहरु भानुभक्त जोशी, प्रतीक्षा तिवारी, सुरेन्द्रराज आचार्य, बिजुला रायमाझीले कृषि प्रधान देशमा कृषिमा कम बजेट राखिएको, नेपालको वन तस्करको धन हुन पुगेको, वन मन्त्रालयको बजेट कार्यान्वयन हुन नसक्ने देखिएका बताए ।
यसैगरी उनीहरुले आवश्यक नभएको स्थानमा बजेट राखिएको र बजेट चाहिने ठाउँमा नराखिएको, चुरेको दोहन नरोकिएको, प्लाष्टिकले खेतीयोग्य जमिनमा असर गरेको, पाउनुपर्नेले कृषि अनुदान नपाएकाले यसतर्फ सरकारेको ध्यान जानुपर्नेमा जोड दिए ।