+

भिजिट भिसा प्रकरणमा बनाईएको छानबिन समिति ‘बाँदरको पुच्छर, लौरो न हतियार’ : गणेश पराजुली

१४ असार २०८२, शनिबार ०६:५९

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । रास्वपाका सांसद गणेश प्रसाद पराजुलीले आफूहरुले उठाएको भिजिट भिसा प्रकरण मानव तस्करविरुद्धको अपराधको मुद्दा भएको बताए । उनले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिका शंकाको घेरामा आएको आरोप लगाए ।

गृहमन्त्री लेखककै सचिवालयका सदस्यको नाम जोडिएपछि यसमा राजनीतिक संरक्षण नहोला भन्न सकिन्छ र ? भन्दै उनले अर्को प्रश्न गरे । यस प्रकरणमा सरकारले बनाएको छानबिन समिति ‘बाँदरको पुच्छर, लौरो न हतियार’ को संज्ञा दिए । यो समितिले मानव तस्करको जालो तोड्ने भन्दापनि आफू र आफूलाई बचाउने उनको आरोप छ । उनले यस प्रकरणमा सत्य, तथ्य छानबिनको लागि पूर्व प्रधानन्यायाधीश वा वहालवाला न्यायाधीशको संयोजकत्वमा छानबिन समितिको माग गरेको पनि स्मरण गराए ।

पराजुलीले भने,‘हाम्रो आन्दोलन जारी छ । नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै देशका जनतालाई बेच्नेजस्तो घिनलाग्दो राष्ट्रघाती अपराधपछि अहिले भिजिट भिसाको आवरणमा मानव तस्करीको जालोमा जनतालाई जबरजस्ती पस्न बाध्य पार्ने र त्यही अपराधमा संलग्न गर्ने दलाल र तस्करहरुलाई संरक्षण गर्ने काम राज्य र सरकार सञ्चालन गरिरहेका दलहरुका नेताहरुले गरिरहेको तथ्य बाहिरिएको छ । यो केवल कानूनी अपराधमात्रै होईन, यो त राष्ट्र र जनताको इज्जतमा गरिएको चीरहण हो ।’