+

केही विद्वानहरुले ‘एसईईमा अंक थपेर पास गराइयो’ भनेर बोलेको सुन्दा दुःख लाग्छ: प्रधानमन्त्री ओली

१४ असार २०८२, शनिबार ०८:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मेहनत गरेर ल्याएको नतिजालाई अपमान नगर्न आग्रह गरेका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको उत्साहलाई होच्याउनेगरी केही विद्वानहरुले बोलेको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो नतिजा आएकोमा हामी सबै खुसी छौं, खुसी हुनुपर्छ । यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयोजस्ता हचुवाको भरमा विना आधार, मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने र अपमान गर्नेगरी कुनै–कुनै विद्वानले बोलेको सुन्दा मलाई दुःख पनि लाग्छ, अचम्म पनि लाग्छ,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले शिक्षक र विद्यार्थीहरुको मेहनतले यस वर्ष शिक्षाको स्तर माथि उठेको दाबी गरे । नम्बरमा कुनै पनि प्रकारको खेलवाड नभएको उनको दाबी छ । ‘म सबैलाई ढुक्क हुन आग्रह गर्न चाहन्छु । शिक्षकहरुले मेहनत गरेर यो नतिजा ल्याउने अवस्थामा पुर्याएका छन् । यस नतिजालाई, विद्यार्थीको मेहनतलाई अपमान नगर्न म आग्रह गर्न चाहन्छु,’– उनले भने ।

एसईईको नतिजा हिजो (शुक्रबार) सार्वजनिक भएको हो । यसवर्ष अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी विद्यार्थी ग्रेडेट भएका छन् ।