+

राप्रपा नेपालले भन्यो– सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्दछ

२६ भाद्र २०८२, बिहीबार ०९:१८

काठमाडौँ । राप्रपा नेपालले सबै नेपाली अटाउने गरी नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकास गर्नुपर्नेमा जोड दिएको छ । मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि निरन्तर संघर्षमा रहँदै आएको उल्लेख छ ।

अहिले ‘जेनजी’ युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएको भन्दै उनले युवा विद्यार्थीहरूलाई धन्यवाद दिएका छन् । ‘यद्यपि यो अवस्थासम्म आइपुग्न नेपाली जनताले धेरै ठुलो जनधनको क्षति व्यहोर्नुपर्यो । अहिले पनि आन्दोलनको दौरान सहादत प्राप्त गरेका परिवारको आँसु सुकिसकेको छैन । महत्त्वपूर्ण राष्ट्रिय संरचना र सम्पदाहरूमा लागेको आगो निभिसकेको छैन,’ विज्ञप्तिमा थापाले भनेका छन्, ‘परिस्थिति अझै विषम, जटिल र तरल रहेको छ । यो अवस्थामा संयम, संवाद र एकता आवश्यक पर्दछ ।’

विगतका कमी कमजोरीहरूबाट पाठ सिकेर सबै राजनीतिक विचार, शक्ति र संस्थाहरू अटाउन सक्ने संरचनागत आधार र वातावरण तयार गर्न सकेमा मात्र युवाहरूले परिकल्पना गरेको लक्ष्य प्राप्त हुनसक्ने अध्यक्ष थापाको तर्क छ । उनले भनेका छन्– ‘प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अलमलिएर पूर्वाग्रहबाट मुक्त हुन सकेनौँ भने यो ऐतिहासिक अवसर पनि गुम्न सक्दछ ।’

युवाहरू अनुभवहीन रहेको तथा राज्य सञ्चालनको ज्ञान छैन भन्ने भ्रम छर्दै आफ्नो निहित स्वार्थ र दुनो सोझ्याउन चाहनेहरूबाट युवाहरू सतर्क हुनुपर्नेमा समेत थापाले जोड दिएका छन् । ‘संसारको इतिहासलाई हेर्ने हो भने २५/३० वर्षका युवाहरूले नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका थुप्रै उदाहरण छन् । अहिले चर्चामा रहेका कुनै पनि व्यक्तिहरूबाट जेनजी युवा पुस्ताले सोचेको परिवर्तन सम्भव छैन । युवाहरूले आवश्यक ठानेमा अनुभव र ज्ञान भएका प्रौढहरूलाई सल्लाहकारको भूमिकामा राख्नु उपयुक्त हुनेछ,’ विज्ञप्तिमा थापाले भनेका छन् ।

विगतमा ‘कम्बल ओडेर घिउ खाने’ प्रवृत्ति बोकेकाहरूबाट युवाहरू विशेष रूपले सतर्क हुनुपर्ने उनले जनाएका छन् ।

‘यस्तो तरल अवस्थामा देशी विदेशी शक्ति र स्वार्थ समूहले फाइदा उठाउन खोजिरहेका हुन्छन् ।धमिलो पानीमा माछा मार्ने प्रवृत्ति सधैँ देखिने गरेको छ,’ थापाले भनेका छन्- ‘भ्रष्ट र अपराधीहरूले कानुनको कठघरामा उभिनै पर्दछ । सरकारविहीनताको अवधि जति लम्बिँदै जान्छ, त्यति नै परिस्थिति जटिल बन्दै जानेछ ।’