काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन्। एमाले केन्द्रीय कमिटीको १०औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन्।
उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए। उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ। यदि हामीले प्रभावकारी ढंगले काम गर्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, देश बर्बादीतर्फ धकेलिएको छ।’
अध्यक्ष ओलीले यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनु अत्यावश्यक रहेको बताए। उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ। हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं। किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन। हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं। लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन्।’
अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन्। उनले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको भन्दै सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे।
यस्तै ओलीले सरकारकै कारण तोकिएको समयमा निर्वाचन नहुने बताएका छन्उ। असंवैधानिक तवरले बनेको वर्तमान सरकारले चुनाव गराउने बाटो नसमातेको उनले आरोप लगाए।
ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेको र संसद् विघटनसमेत असंवैधानिक तरिकाले गरेको बताए। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्नेहरूले नै अहिले आफैँले असंवैधानिक तरिकाले विघटन गर्ने काम योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको उनले बताए।
उनले संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौं अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका उनले दाबी गरे। सर्वोच्च अदालतले यस अघि नै नजिर कायम गरिसकेकोले अहिलेको संसद् विघटन ठिक छ भनेर सोच्ने पनि नसकिने ओलीले बताए।
तानासाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको उल्लेख गर्दै ओलीले अहिलेको असहज अवस्थामा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे। त्यसका लागि एमाले एक भएर अघि बढ्नुपर्ने उहाको भनाइ छ।
लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै ओलीले अब यसको रक्षा जनताबाट नै हुनुपर्ने बताए। उनले एमालेको नेतृत्वका बिषयमा भएका चर्चा प्रति असन्तुष्टि जनाए। ओलीले कसैले फेसबुकमा गाली गर्दैमा आफूले पार्टी अध्यक्ष पद नछाड्ने बताए। केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने उनले बताए।
अध्यक्ष ओलीले एमाले छाडेर गएका नेता कार्यकर्तालाई एमाले फर्कन आह्वान गरे। एमाले फुटाएर एकीकृत समाजवादी पार्टी बनाएकाहरु पनि अहिले छहारी खोज्दै हिडेको उहाले बताए। बैठकमा अध्यक्ष ओलीले पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन्र्नु।
त्यस्तै मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक ओलीको विशेष प्रस्तावमा जेनजी आन्दोलनको स्वतन्त्र र निष्पक्ष छानविन गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने उल्लेख गरिएको छ।


