गोकुल निरौला ।
हिजो आज किन किन मनमा अनेक कुरा खेलि रहेका छन । कहिले मनमा थकानको कुरा सल्मलाउछ कहिले आक्रोसको कुरा । देस भरि चलिरहेको चुनाबि दौडधुपको बिचमै मनमा पाखामा गहुँ बालि चर्ने भगेरा सम्झे सिमलको टुप्पोमा बस्ने जिल, गिद्ध, बाज सम्झे । मनमनै यो पनि सम्झे यसरी आफ्नो उडान आफै तयगर्ने चराले आफुलाइ थाकेको महसुस गर्छ होलाकि नाइ ? आफु एक्लो भएको महसुस गर्छ होलाकी नाइ ?
अनेक प्रस्नै प्रस्नको बिचबाटै एउटा चरो उडेरै मर्ने भो भनेर लेख्ने जमर्को गरे । चराले आफ्नै पारामा उडान भर्छ । चराको उडानमा नत ट्राफिक जाम हुन्छ नत तेलको समस्यानै चरा केवल उडि रहन्छ । आकाशको आफ्नै नियम हुन्छ । चरोले पखेटा फिँजाएर उड्दा ऊ स्वतन्त्र देखिन्छ, तर त्यो स्वतन्त्रता हावाको दिशासँग बाँधिएको हुन्छ । कहिले हावा अनुकूल हुन्छ, कहिले विपरीत । कहिले उडानले क्षितिज नजिक ल्याउँछ, कहिले थकानले जमिनतिर तान्छ । अहिलेको नेपाली राजनीतिलाई हेर्दा यस्तै एउटा चरोको कथा सम्झना आउँछ , त्यो चरो उडेरै मर्ने कि उडेरै बाँच्ने भन्ने दोधारमा परेको छ । अब सुरुगरौ उडेको चरासंगै चलिरहेको निर्वाचन को कुरा ।
निर्वाचन नजिकिँदै जाँदा सडक, चोक, गल्ली र गाउँका चौताराहरूमा भाषणका स्वरहरू गुन्जिरहेका छन् । झण्डा फहराइरहेका छन् । पोस्टरहरूले भित्ताहरू रङ्गिएका छन् र भीडहरू देखिन्छन् आशा बोकेका, निराशा बोकेका, जिज्ञासा बोकेका, आक्रोश बोकेका । यही भीडलाई केन्द्रमा राखेर राजनीतिक चरोहरू आकाश नाप्न निस्किएका छन् । नेपाली राजनीतिक आकाशमा लामो समयदेखि उडिरहेका बाजहरू छन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेसका नयाँ अनुहार गगन थापा उनीहरूको उडान इतिहाससँग गाँसिएको छन् । संघर्ष, आन्दोलन, सत्ता, सहकार्य, विभाजन सबै रंग मिसिएको छ । उनीहरूका पखेटामा अनुभवको धूलो छ, सफलताका रङ छन्, र विवादका छायाँ छन् ।
यता नयाँ चरा पनि देखिएका छन् रवि लामिछाने र बालेन्द्र शाह । उनीहरूको उडान परम्परागत आकाशबाट होइन, सडकबाट सुरु भएको जस्तो देखिन्छ । माइक र क्यामेराबाट, महानगरको फाइल र सडक सुधारको योजनाबाट, सामाजिक सञ्जालको लाइभ र भिडको हुटिङबाट उनीहरूले आफ्नो आकाश बनाएका छन् । रबि र बालेनका उम्मेदवारको भासणमा समेत जेन्जी आन्दोलनको सफतला पछिको निर्वाचन भन्न थालेका छन । दस वर्ष जनआन्दोलन गरेको माओवादिलाइ सत्र हजार मारेको आरोपमा बेला बेला पोल्ने गरेको छ भने केपि ओलिलाइ मान्छे मारेको आरोपमा जेल बसेको भन्ने आरोप छ ।
तर नयाँ भनेको राष्ट्रिय स्वोतन्त्र पार्टि भने खुलेयाम जेन्जी आन्दोलनलाइ आफुले गरेको छनक सहित चुनाबि मैदानमा छ । के यो पार्टिलाइ भोलि प्रस्न आउदैन र ? के यो प्रस्नले जेन्जी आन्दोलन पछिको पहिलो उपलब्धी मानेर गैरदलिय प्रधानमन्त्री लाई पोल्दैन त ? नयाँ चराले कुनै कुटनितिक, राजनितिक अभ्यास बिना युटुव, सोसलमिडियाको भरमा चुनाव लडेर देशले निकास पाउन सक्दैन तर चराले उडान भर्न सक्छ । पुराना चरा मानिएका केपी र प्रचण्ड,गगन प्राय आफ्नै क्षेत्र वरिपरि केन्द्रित देखिन्छन् ।
आफ्नो राजनीतिक गढ जोगाउनु, संगठन मजबुत राख्नु, पुराना कार्यकर्तालाई सन्तुष्ट पार्नु यो उनीहरूको प्राथमिकता जस्तो देखिन्छ । उनीहरूको प्रचार अभियान परम्परागत शैलीमा चलिरहेको छ । सभा, जुलुस, घोषणापत्र, गठबन्धनका समीकरण पुराना हजुरले आफ्नै बुद्धि विबेकले प्रयोग गरिरहेका छन । उनीहरूको राजनीति स्थायित्वको भाषा बोल्छन, अनुभवको उदाहरण दिन्छन, र ‘हामीले बनायौँ, अब हामीले नै सुधार्छौँ’ भन्ने विश्वास दिलाउन खोज्छन ।
तर रवि र बालेनको शैली फरक छ । उनीहरू देश दौडाहामा देखिन्छन् । किन? किनकि उनीहरूको राजनीति क्षेत्रीय गढभन्दा भावनात्मक लहरमा टिकेको छ । उनिहरुले प्रत्यक्ष जनता भन्दा सोसलमिडिया बाट जनताको मनभावना आक्रोस उत्पन्न खोज्छन र सोसल मिडिया बाटै भेट्न चाहान्छन ।
रवि र बालेन अनुहार हुन् असन्तुष्टिको, परिवर्तनको, प्रश्नको । उनीहरू पुरानो संरचनालाई चुनौती दिने प्रतीक हुन् । यो देश दौडाहाले सन्देश दिन्छ“हामी केवल एउटा क्षेत्रका उम्मेदवार होइनौँ, हामी भावना हौ भन्छन । तर प्रश्न उठ्छ भावना पर्याप्त हुन्छ त ? चरोले केवल उत्साहका भरमा उड्न सक्छ, तर हावाको गति नबुझी उड्दा पखेटा थाक्छ । सडकमा देखिने भीडलाई हेर्दा लाग्छ यो केवल राजनीतिक सभा होइन, यो सामाजिक अभिव्यक्ति हो । नयाँ पुस्ताले के खोजेको हो? राजनीति परिवर्तन कि नयाँ अनुहार ? युवा पुस्ताको निराशा गहिरो छ । रोजगारीको अभाव, वैदेशिक पलायन, भ्रष्टाचारको चर्चा, अवसरको असमानता यी विषयहरू उनीहरूको मनमा गाँसिएका छन् । उनीहरू पुराना अनुहारसँग थाकेका जस्तो देखिन्छन् । तर के उनीहरू केवल अनुहार बदल्न चाहन्छन्, कि प्रणाली बदल्न? भन्ने प्रस्नको उत्तर नत बालेन रबिले दिन सकेका छन नत जनताले बुझ्न सकेका छन ।
रबि बालेन घण्टि हल्लाउदै देश दौडाहामा जाँदै गर्दा जनतामाझ अनेक प्रस्न उब्जीन थालेका छन । यदि प्रणाली उस्तै रह्यो भने अनुहार बदलिँदा के फरक पर्छ? चरो नयाँ भए पनि पिंजरा पुरानै भए उडान कति टाढा जान्छ ? यस्तै यस्तै प्रस्न उब्जीन थालेका छन । रवि र बालेनको देश दौडाहामा देखिएको यस्तो भिडले के सन्देस दिन खोजेको हो भनेर एक थरि बौधिक समाजले उत्तर खोजिरहेका छन । यस्तो राजनीतिक सभामा देखिने भीड सधैँ मतदाता हुँदैन । कोही जिज्ञासु हुन्छ, कोही समर्थक, कोही विरोधी, कोही मनोरञ्जन खोज्ने । बालेन र रविको कार्यक्रममा देखिने युवाको भीड कति भोटमा परिणत हुन्छ यो निर्वाचनले मात्र देखाउँछ ।
सडकमा आउने सबै रवि र बालेनका मतदाता हुन् भन्ने निष्कर्ष हतारो हुनेछ । भीड कहिले लहर हुन्छ, कहिले लहर भ्रम पटक पटक भएको आन्दोलन पछिको चिर्वाचनको इतिहासले देखाएको छ । सभा ठूलो हुँदैमा मत परिणाम निश्चित हुँदैन । चरोको पखेटा ठूलो देखिँदैमा उडान सुरक्षित हुँदैन । एक थरि अन्य दलले घण्टि चुनाव चिन्हलाइ भौतिक रुपमा प्रयोग गरेको बिरोध पछि निर्वाचन आयोगले नै प्रतिवन्ध लगायो ।
के घण्टी हल्लाउँदै देश दौडाहामा हिँड्दा परिवर्तन आउँछ? प्रतीकहरू शक्तिशाली हुन्छन् । घण्टीले ध्यान खिच्छ, चेतना जगाउँछ, संकेत दिन्छ । तर परिवर्तन केवल प्रतीकले सम्भव हुँदैन । नीति, योजना, संस्थागत सुधार, पारदर्शिता यी बिना परिवर्तन अधुरो हुन्छ । राजनीति भावनाको खेल मात्र होइन, संरचनाको विज्ञान पनि हो । यदि नयाँ शक्ति पुरानो प्रवृत्तिमा मिसियो भने के फरक रहन्छ? यदि पुराना शक्ति आत्मसमीक्षा गर्न असफल भए भने के भविष्य उज्यालो हुन्छ? एउटा चरो उडेरै मर्ने पनि सक्छ । यदि ऊ थकान नचिने, यदि ऊ दिशा नबुझे, यदि ऊ मौसम नहेरी उड्यो भने । तर उडान रोक्दा पनि ऊ मर्छ पिंजरामा, निष्क्रियतामा ।
नेपालको राजनीति अहिले यस्तै मोडमा छ । पुराना बाजहरूले आफ्नो अनुभवको बलमा उडान जारी राखेका छन् । नयाँ चराहरूले उत्साह र प्रतीकको बलमा आकाश चिर्न खोजिरहेका छन् । तर दुवैले बुझ्नुपर्ने कुरा एउटै छ जनताको विश्वास नै हावा हो । त्यो हावा अनुकूल भए उडान सहज हुन्छ, प्रतिकूल भए दुर्घटना । सडकमा देखिने भीड परिवर्तनको संकेत हुन सक्छ, तर त्यो अन्तिम उत्तर होइन । नयाँ पुस्ताले केवल नयाँ अनुहार होइन, नयाँ संस्कार, नयाँ प्रणाली, नयाँ उत्तरदायित्व खोजेको जस्तो देखिन्छ । उनीहरू प्रश्न गर्छन् किन देश छोड्नुपर्छ? किन अवसर सीमित छन्? किन भ्रष्टाचार दोहोरिन्छ?
यदि राजनीतिले यी प्रश्नको उत्तर दिन सकेन भने चरो उडेरै मर्नेछ । यदि उत्तर दिन सक्यो भने उडान इतिहास बन्नेछ ।
अन्तत चुनाव केवल मतपत्रको खेल होइन, विश्वासको परीक्षा हो । भीड केवल संख्या होइन, संकेत हो । र चरो केवल उम्मेदवार होइन, व्यवस्था हो । उडान केवल प्रचार होइन, परिणाम हो । अनायासै मनमा उब्जीएको एउटा चरो उडेरै मर्ने भो यो चेतावनी पनि हो, सम्भावना पनि । अब निर्णय जनताका हातमा छ उडानलाई जीवन बनाउने कि थकान।


