+

ट्रम्पको दाबी: इरानसँगको युद्ध रोक्ने सम्झौता अन्तिम चरणमा

१० जेष्ठ २०८३, आईतवार ११:५५

वासिङ्टन डीसी। लामो समयदेखि जारी तीव्र सैन्य तनाव र रणनीतिक गतिरोधलाई चिर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार पारिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

वासिङ्टन, तेहरान र मध्यस्थता गरिरहेका विभिन्न मित्र राष्ट्रहरूबीच सघन कूटनीतिक प्रयासपछि वार्ताका अधिकांश जटिल विषयहरूमा सहमति जुटिसकेको र अब केवल रणनीतिक रूपरेखालाई अन्तिम रूप दिन मात्रै बाँकी रहेको राष्ट्रपति ट्रम्पले आइतबार औपचारिक घोषणा गरेका हुन्।

अमेरिका र इरानबीचको युद्धविराम प्रयास अत्यन्तै गम्भीर मोडमा पुगेका बेला क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूको दौडधुपले यो निकास निकाल्न मुख्य भूमिका खेलेको बताइएको छ।

विशेष गरी मध्यपूर्वी क्षेत्रमा बढ्दो सैन्य टकराव र आसन्न युद्धको जोखिम कम गर्न कूटनीतिक च्यानलहरू सक्रिय भइरहँदा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको तेहरान भ्रमणलाई यसको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।

युद्ध रोक्ने अन्तिम प्रयत्नस्वरूप इरानी राजधानी पुगेका सैन्य प्रमुख मुनिरले त्यहाँका शीर्ष राजनीतिक नेतृत्वका साथै शक्तिशाली सैन्य कमाण्डरहरूसँग गहन छलफल गरेका थिए।

सोही सैन्य तथा राजनीतिक दबाब र कूटनीतिक मध्यस्थताको जगमा तयार पारिएको नयाँ सैन्य-कूटनीतिक ढाँचाअनुसार अब अमेरिका र इरानबीच सुरुमा ३० दिनको प्रारम्भिक वार्ता अवधि कायम रहनेछ। वार्ता सकारात्मक रूपमा अघि बढेको खण्डमा दुवै पक्षको आपसी सहमतिमा यो अवधिलाई थप एक महिनासम्म लम्ब्याउन सकिने लचिलो व्यवस्था समेत सम्झौतामा समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘वालस्ट्रिट जर्नल’ का अनुसार यस प्रारम्भिक सम्झौताको मुख्य र तात्कालिक उद्देश्य दुई देशबीचको प्रत्यक्ष युद्ध रोक्ने, एक अस्थायी तर बलियो कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्वकै तेल आपूर्तिको लाइफलाइन मानिने रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः निर्बाध सञ्चालनमा ल्याउनु हो।

राष्ट्रपति ट्रम्पले सबै पक्षहरू मुख्य सर्तहरूमा सहमत भइसकेकाले सम्झौताको अन्तिम प्राविधिक विवरणहरू छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्। प्रस्तावित समझदारीअनुसार इरानले हर्मुज जलमार्गलाई अस्थायी रूपमा खुला गरी युद्धविरामको वातावरण बनाउने प्रतिवद्धता जनाएको छ भने त्यसको बदलामा अमेरिकाले इरानमाथि लाद्दै आएका केही कडा आर्थिक तथा व्यापारिक प्रतिबन्धहरूमा सहजता प्रदान गर्नेछ।

साथै, वार्ता जारी रहने अवधिसम्म समुद्री मार्गमा कुनै पनि प्रकारको सैन्य अवरोध वा आक्रमण नहुने सुनिश्चितता दुवै पक्षले गराउनुपर्ने विषयमा गहन छलफल भइरहेको छ।

यसैबीच, सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक पाटोका रूपमा हेरिएको इरानको परमाणु कार्यक्रमको विषयमा पनि ठूलो ब्रेकथ्रु भएको छ। ‘न्युयोर्क टाइम्स’ ले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टअनुसार प्रस्तावित सम्झौताको सर्त मन्जुर गर्दै इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्न प्रारम्भिक सहमति जनाएको छ।

अमेरिकी गुप्तचर तथा रक्षा अधिकारीहरूको बुझाइमा इरानसँग हाल ६० प्रतिशतसम्म प्रशोधन गरिएको करिब ४०० किलो युरेनियम रहेको आकलन छ, जुन आणविक हतियार निर्माणको दिशामा निकै नजिक मानिन्छ।

उक्त संवेदनशील युरेनियम भण्डारलाई सुरक्षित रूपमा कसरी तेस्रो मुलुकमा हस्तान्तरण गर्ने वा अन्तर्राष्ट्रिय सुपरिवेक्षणमा कसरी व्यवस्थापन गर्ने भन्ने जटिल प्राविधिक विषय भने अझै टुङ्गिइसकेको छैन।

अमेरिकी अधिकारीहरूले यो बाँकी मुद्दालाई नै सम्झौताको सबैभन्दा चुनौतीपूर्ण र आगामी चरणको वार्ताको केन्द्रीय बिन्दु मानेका छन्।

अमेरिका र इरानबीचको यो नाटकीय कूटनीतिक विकासक्रमलाई लिएर पश्चिम एसियाको मुख्य शक्ति इसराइलमा भने तीव्र चासो र गम्भीर चिन्ता दुवै देखिएको छ।

इरानको परमाणु कार्यक्रम र क्षेत्रीय प्रभावलाई आफ्नो अस्तित्वको सुरक्षा चुनौती मान्दै आएको इसराइल यस वार्ताको प्रत्यक्ष पक्ष नरहेका कारण उसले निकै ढिलो र अन्तिम चरणमा मात्र यसबारे जानकारी पाएको भन्दै तेल अभिभमा असन्तुष्टि चुलिएको बताइन्छ। ह्वाइट हाउसले इसराइलका सुरक्षा चासोहरूलाई सम्झौतामा सम्बोधन गरिने आश्वासन दिए पनि इरानमाथिको प्रतिबन्ध फुकुवा हुने र परमाणु भण्डारको प्राविधिक व्यव

स्थापन पूर्ण रूपमा नजुट्दै सम्झौता हुन लागेकोमा इसराइली नेतृत्व सशंकित बनेको छ। यद्यपि, यो अझै प्रारम्भिक रूपरेखा मात्रै भएकाले आगामी दिनमा हुने विस्तृत र उच्चस्तरीय वार्ताले नै मध्यपूर्वको भावी सुरक्षा समीकरण र विश्वव्यापी ऊर्जा बजारको दिशा तय गर्ने निश्चित छ।