काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमै छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।भारत सरकारको औपचारिक निमन्त्रणामा नै उनको यो भ्रमणको कार्यतालिका तय भएको रास्वपा उच्च स्रोतले पुष्टि गरेको छ।
नयाँ राजनीतिक समीकरण र आम निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणहरू ठप्प प्रायः रहेको अवस्थामा सत्ता साझेदार दलका प्रमुखको यो भ्रमणलाई कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।
मुलुकमा नयाँ सरकार गठन भएपछि नेपाल र भारतबीचको परम्परागत आपसी सम्बन्धमा केही चिसोपन आउन थालेको चर्चा चलिरहेकै बेला भारतीय विदेश मन्त्रालयले रास्वपा सभापति लामिछानेलाई दुई दिने औपचारिक भ्रमणको निम्तो पठाएको हो।
स्रोतका अनुसार लामिछाने आगामी जेठ १८ गतेको आसपासमा नयाँ दिल्ली प्रस्थान गर्ने तयारीमा छन्। नयाँ दिल्लीमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक एवं उच्चस्तरीय भेटवार्ता गर्ने कार्यसूची तय भइसकेको छ।
यसअघि नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल जेठ १८ गते नै भारतमा आयोजना हुने ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन दिल्ली जाने तयारीमा रहे पनि उक्त अन्तर्राष्ट्रिय सम्मेलन नै अन्तिम समयमा स्थगित भएपछि उनको भ्रमण रोकिएको थियो। त्यस्तै, भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण समेत रद्द भइसकेको छ।
विशेष गरी, नयाँ दिल्ली संस्थापन पक्ष नेपालका नयाँ प्रधानमन्त्री बालेन्द्र शाहलाई विगतको कूटनीतिक परम्परा जस्तै आफ्नो पहिलो वैदेशिक भ्रमण भारतबाटै गराउन निकै आतुर देखिएको छ र त्यसका लागि औपचारिक निमन्त्रणा समेत पठाइसकेको छ।
तर, प्रधानमन्त्री शाह भने परम्परावादी कूटनीतिभन्दा माथि उठेर आवश्यकता र राष्ट्रिय हितका आधारमा मात्र जुनसुकै देशको पनि भ्रमण गर्न सकिने व्यावहारिक मनस्थितिमा रहेका कारण उनको भारत भ्रमण अझै तय हुन सकेको छैन।
प्रधानमन्त्री शाहको यही भ्रमणको वातावरण बनाउन र ताकेता गर्न भारतीय प्रधानमन्त्री मोदीले आफ्ना विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए। तर, प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तल्लो तहका विदेशी कूटनीतिक दूतहरूलाई अत्यावश्यक अवस्थामा बाहेक भेट नदिने कडा राष्ट्रिय प्रोटोकल बनाएका कारण भारतीय विदेश सचिवको नेपाल भ्रमण नै रद्द हुन पुगेको थियो।
प्रधानमन्त्री शाहसँगको कूटनीतिक संवाद तत्काल सहज हुन नसकेपछि भारत सरकारले सत्ता गठबन्धनका प्रमुख घटक एवं रास्वपा सभापति लामिछानेमार्फत नेपालको नयाँ राजनीतिक नेतृत्वसँग संवादको ढोका खोल्न खोजेको राजनीतिक विश्लेषकहरूको अनुमान छ।
दुई देशबीच रणनीतिक असमझदारी बढ्दै गएको र उच्चस्तरीय संवादहीनताको अवस्था सिर्जना भइरहेका बेला हुन लागेको लामिछानेको यो दुई दिने दिल्ली भ्रमणले आपसी असमझदारी हटाउन र आगामी कूटनीतिक यात्रा सहज बनाउन कस्तो भूमिका खेल्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।


