+

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

१० जेष्ठ २०८३, आईतवार १७:४५

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको छ। मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो।

उद्धार गरिएका उनीहरुलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिए। “आज धनगढीमा उद्धार गर्दैछौं, गत वैशाख २८ गते मेचीबाट सुरु भएको यात्राका क्रममा १२० जनाको उद्धार गरिएको छ”, उनले भने।

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस भनेर काँकरभिट्टास्थित मेची पुलबा यात्रा सुरु गरेको थियो। यात्रा कञ्चनपुर–कैलाली हुँदै आइतबार बाँके पुग्नेछ।

आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि यहाँ आइपुगेको हो। आश्रमका सदस्य सापकोटाले सडकआश्रित मानवहरूको उद्धारका लागि देशव्यापी यात्रामा रहेको बताए।

उनले मानव सेवा आश्रमका देशका विभिन्न स्थानमा ३३ वटा सेन्टर रहेको जानकारी दिए। गायिका आनी छोइङ डोल्माले यात्रामा आर्थिक व्यवस्थापन गरेको छ भने मानव सेवा आश्रमले अन्य व्यवस्थापकीय भूमि निभाउँदै आएको छ।