+

विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

२४ असार २०८३, बुधबार १०:३३

काठमाडौँ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाहरू भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बुलेटिन जारी गरेको छ।

महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल नै रहेको स्पष्ट पारेको छ।

ठुला नदीहरूको अवस्था सामान्य रहे तापनि साना नदी तथा खोलाहरूमा भने बहाव बढ्ने सम्भावना देखिएको छ। बाढी पूर्वानुमान बुलेटिन अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

यी क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना औँल्याइएको छ।

महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। त्यसैगरी पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश भई बहने स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने सम्भावना रहेको हुनाले नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई थप सतर्क रहन आवश्यक देखिएको छ।

742198222_122226243290355476_4311700358818507189_n740659534_122226243296355476_7137497087145151662_n