No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झापाबाट एकीकृत समाजवादीको जागरण अभियान सुरु

0

 

झापा ।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरिएको बताएका छन् ।

पूर्वी नाका काँकरभिट्टाबाट आइतबारदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची–महाकाली यात्राको उद्घाटन गर्दै अध्यक्ष नेपालले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरिएको बताए ।

जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयका साथ सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्ने पक्ष उनको भनाइ थियो । अध्यक्ष नेपालले भने, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झन्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौँ ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरूमा हुर्किरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले राष्ट्रिय पूँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरू खोल्न सके युवाहरूमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अनेकौँ व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण पार्टीले अभियान सुरु गरेको बताए । उनले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नाका साथै महँगी बढेर देशमा आर्थिक सङ्कट चरम रूपमा पुग्दासमेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गरे ।

उनले वर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो सङ्कटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सिमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताए । वरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताए ।

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताए । उनले अभियान एक/दुई दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताए । उनले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैरजिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गरे ।

महासचिव भुसालले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने जानकारी दिए । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्षरूपमा जनताको समस्या बुझ्ने र सम्वादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उनको भनाइ छ ।

कार्यक्रम सुरु हुनुअघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यको सहभागिता रहेको थियो ।

 

प्रकाशित: १४ आश्विन २०८०, आईतवार १६:०४

Leave a Reply