इन्दुको कप्तानीमा महिला क्रिकेट टोली घोषणा

२३ कार्तिक २०८०, बिहीबार ११:५२

काठमाडौं । हङकङमा हुने चारदेशीय टी २० क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको हो । उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छिन् ।

नियमित कप्तान रुबिना क्षेत्रीको अनुपस्थितिमा बर्मालाई कप्तान बनाइएको हो । क्षेत्री र सीता रानामगर हङकङमा हुने अल स्टाटर्स टी २० सिरिज खेल्दैछन् । कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा टी २० सिरिज हुँदैछ ।

प्रतियोगितामा हङकङ, नेपाल, जापान र तान्जानिया छन् । नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ । दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापान मंसिर २ मा हुनेछ । शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन छन् ।