No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तयारी पोशाक श्रमिकको पारिश्रमिकमा थप वृद्धि गर्न प्रधानमन्त्री हसिनाद्वारा अस्वीकार

0

प्रहरीसँग हिंसात्मक झडप र कारखानामा तोडफोडपछि करिब तीन गुणा पारिश्रमिक वृद्धिको माग गरेर प्रदर्शन गरिरहेका तयारी पोशाक श्रमिकका लागि कुनै पनि थप पारिश्रमिक वृद्धिलाई बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खारेज गरेकी छन् ।

सरकारले नियुक्त गरेको एक प्यानलले मङ्गलबार तयारी पोशाक कारखानाका श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले बढाएर १२ हजार पाँच सय टाका (एक  सय १३ अमेरिकी डलर) बनाएका थियो । श्रमिकहरूले भने न्यूनतम पारिश्रमिक २३ हजार टाका हुनुपर्ने माग गरिरहेका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् ।

यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् । यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

“तयारी पोशाक श्रमिकहरूलाई म भन्न चाहन्छु– जति पारिश्रमिक बढाइएको छ त्यसैमा काम गर्नुपर्छ, गरिरहनु पर्छ”, उनले आफ्नो सत्ताधारी अवामी लिग पार्टीको बैठकमा भनिन्, “कसैको उक्साहटमा विरोध गर्नका लागि सडकमा उत्रिन्छन् भने उनीहरूले आफ्नो जागिर गुमाउने छन्, आफ्नो काम गुमाउने छन् र उनीहरूले आफ्नो गाउँ फर्कनु पर्नेछ, यदि कारखाना बन्द भयो र उत्पादनमा अवरोध भयो, निर्यात अवरुद्ध भयो भने उनीहरूको नोकरी के हुन्छ ? यो कुरा उनीहरूले बुझ्नु पर्छ ।”

पारिश्रमिक प्यानलको प्रस्ताव अस्वीकार गर्नका लागि २५ हजारभन्दा बढी श्रमिकले कारखाना र राजमार्गहरूमा विरोध प्रदर्शन गरेपछि प्रहरीले बिहीबार राजधानी ढाकाबाहिरको प्रमुख औद्योगिक सहर गाजिपुर र अशुलियामा हिंसा भएको बताएको छ । प्रहरीका अनुसार आन्दोलनबाट गत सातायता कम्तीमा तीन श्रमिकको मृत्यु भएको छ भने ७० कारखानामा तोडफोड भएको छ ।

युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।

प्रधानमन्त्री हसिनाले निजामती कर्मचारीलाई भन्दा राम्रो प्रस्ताव श्रमिकहरूलाई गरिएको बताइन् । उनले भनिन्, “सम्पूर्ण विश्वमा मुद्रास्फीति रहेकाले सरकारी कर्मचारीहरूलाई पाँच प्रतिशतले तलब वृद्धि गरिएको छ तर तयारी पोशाक श्रमिकका लागि ५६ प्रतिशतले वृद्धि हुनेछ ।”

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार ११:५१

Leave a Reply