प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना एकसय भन्दा बढी कर्मचारीको मृत्यु भएको बताएका छन् ।
गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना एकसय एकजना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ । उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताएका छन् । करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो ।
इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा परी एक हजार ४ सयभन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो । हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली प्रत्याक्रमणमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेको बताएको छ ।