परिवार नियोजनका चक्कीले कसरी गर्छन् काम ?

२५ कार्तिक २०८०, शनिबार ०६:१५

अमेरिकामा पनि अब महिलाहरूले चिकित्सकको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन् । यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो– गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन् । ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ । अमेरिकासमेत संसारका एकसय देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ । यस्ता देशका सूचीमा दक्षिण अमेरिका, चीन, ब्रिटेन र भारत पनि छन् ।

अमेरिकामा महिला विशेषज्ञहरू भन्छन्, ‘गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन।’ साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई जे समस्या थियो त्यसमा पनि मद्दत मिल्ने बताइएको छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको जानकारीका अनुसार औषधिको इतिहासमा हजारौँको सङ्ख्यामा औषधि उत्पादन गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधी विकास भएपछि ठूलो परिवर्तन आयो । यसमा लेखिएको जानकारी अनुसार त्यस्तो औषधिले महिलाहरूलाई स्वतन्त्रता र प्रजननको स्वायत्तता पनि दिलायो ।

परिवार नियोजनका चक्कीले कसरी काम गर्छन् ?
भारतमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. एसएन बसु भन्छिन्, ‘गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो। यदि सही तरिकाले औषधि खाने हो भने तिनले शतप्रतिशत रोकथाम गर्छन्। यिनै औषधिले एउटापछि अर्को बच्चा कहिले जन्माउने भन्ने स्वतन्त्रता पनि दिएका छन्।’

गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ। त्यसैगरी दोस्रोमा केवल प्रोजेस्ट्रोन मात्रै हुन्छ जसलाई पीओपी भनिन्छ । दिल्लीस्थित अमृता अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा प्रतिमा मित्तल भन्छिन, ‘पहिले जुन गर्भनिरोधक खाने चक्की हुन्थे तिनमा एस्ट्रोजनको मात्रा ज्यादा हुन्थ्यो जसको दुष्प्रभाव पनि हुन्थ्यो तर अब त्यस्तो दुष्प्रभाव असाध्यै कम मात्रामा हुन्छ।’

अर्की स्त्रीरोग विशेषज्ञ डा सुचित्रा देलवीका अनुसार महिलाका शरीरमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हर्मोन हुन्छन् त्यस्ता औषधिमा ती हर्मोनको प्रयोग गरिन्छ जसको शरीरमा फरकफरक असर हुन्छ । डाक्टर प्रतिमा मित्तल भन्छिन्, ‘गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ। त्यसको ज्यादा दुष्प्रभाव हुँदैन। कुनै औषधि खाँदा क्यान्सर हुन्छ भन्ने भ्रम रहे पनि त्यो सत्य होइन।’

डाक्टर सुचित्र देलवीका अनुसार दैनिक यी औषधि लिदाँ तपाईँको शरीरमा हर्मोन जम्मा हुन्छ भन्ने होइन। बरु कलेजोको मद्दतले यो शरीरबाट बाहिर निस्कन्छ । डाक्टर भन्छन्- कुनै पनि सुरक्षाको साधन बिना सम्बन्ध राखेको खण्डमा १२० घण्टाभित्र यस्ता चक्की लिने सल्लाह दिने गरिन्छ। त्यसो गर्दा गर्भधारण हुने आशङ्का कम हुने बताइन्छ ।

महिलामाथि किन बोझ
जानकारहरूका अनुसार गर्भ निरोधक चक्कीले महिलाहरूलाई परिवार नियोजनको स्वतन्त्रता दिन्छ। तर त्यसकै कारण कतिपय महिलाहरूले केही जिम्मेवारी पनि उठाउनु परिरहेको छ । हुनत पुरुषहरूका लागि पनि गर्भ निरोध साधन छन् । पुरुषहरूका लागि त्यस्ता निरोधक साधन कम छन् । कन्डोम र शल्य चिकित्सा पुरुषहरूका लागि उपलब्ध साधन हुन् ।

तर कन्डोम लगाउँदा यौन सुख कम हुन्छ भन्ने ठान्नेहरू पनि छन् । त्यस्तै शल्यक्रियाबाट शरीरमा कमजोरी हुने भय पाल्ने गरिएको छ जसको उल्टो असर महिलाहरूमा हुन्छ । सरकारले विभिन्न जागरुकता अभियान चलाइरहेको छ । तर यी भ्रमहरू हटाउन सकिएको छैन। पुरुषहरूको सोचमा परिवर्तन आइरहेको छ तर त्यो प्रतिशत एकदमै कम छ।

बीबीसीबाट