‘ऐरी’ बाट बलिउडमा प्रदीपको प्रवेश

१२ मंसिर २०८०, मंगलवार ११:४७

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।सिनेमाको नामसँगै सो भिडियो प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । लुकमा प्रदीपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।

‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ । सिनेमालाई भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । जीवन थापा सिनेमाका निर्देशक हुन् ।

आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘प्रेमगीत–३’ को हिन्दी डब भारतमा रिलिज भएपछि त्यसका वितरक सुवास कालेले प्रदीपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए ।