नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालतले आज आदेश सुनाउने

१५ मंसिर २०८०, शुक्रबार ०२:२४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश विरूद्ध उच्च अदालत पाटनमा परेका निवेदनमा आज आदेश आउने सम्भावना छ ।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा आज आदेश हुनसक्ने जानकारी दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत २० जनाको निवेदनमा १० दिनदेखि उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर गत जेठ १० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

किर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले गत असार १ गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अदालतको आदेशमा २० जना पुर्पक्षका लागि थुनामा छन् । उनीहरुले आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले थुनामै राख्ने नै रहने, धरौटी वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।