No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी भिटोपछि गाजामा युद्धविराम गर्ने प्रस्ताव असफल

0

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो ।

सुरक्षा परिषद्का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए। मतदानमा बेलायत अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो । सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ।

अमेरिकाले यूएईको प्रस्ताव असन्तुलित र अवास्तविक भएको बताएको छ । उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपील र अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १२ सय जना मानिसहरूको मृत्यु भएको थियो । अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्मा भने,’यो प्रस्तावले इजरेलले उक्त आक्रमण सहनुपर्ने मर्म बोकेको छ जसले आतङ्कलाई फेरि आफ्नो ठाउँ बनाउने र खडा हुने बाटो दिन्छ।’

अमेरिकाले प्रस्तावको प्रक्रियालाई हतारको भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ । अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई बेवास्ता गरिएको बताएका छन् ।

प्यालेस्टाइनले भने अमेरिकी भिटो ‘खेद जनाएर मात्रै नपुग्ने’ बताएको छ। हमासका अधिकारीहरूले इजरायलले गरेको हमलामा १७ हजार १सय ७७ जनाभन्दा बढी मारिएको बताएका छन् ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०५:४९

Leave a Reply