No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘पुस्तकविहीन शुक्रबार’ ले सिकाउँदै सीप

0

बालेन साह ।
अन्तरनिहित गुणको पहिचानबाट जीवनमा सफलता प्राप्त हुने कुरामा हामी विश्वास गर्छौं । यसलाई काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले ‘पुस्तक विहीन शुक्रबार शिक्षामा सीप’ कार्यक्रमबाट प्रयोग गरिरहेका छन् । गएको शैक्षिक सत्रबाट सुरु भएको कार्यक्रम चालु शैक्षिक सत्रमा पनि सुरु भएको छ ।

महानगरपालिकाले सुरु गरेको शिक्षामा सीप कार्यक्रम सफलताका लागि मेहनत गर्ने एउटा मार्ग हो । गन्तव्यमा पुग्नको लागि सही मार्ग चयन गर्नुपर्छ । हाम्रो भावी पुस्ताका विद्यार्थीहरूलाई त्यही मिहेनतको मार्ग पहिचान गर्न सिकाउँदै छौँ । जसले भविष्यमा सही मार्ग पहिचान गरी देशलाई आत्मनिर्भर बनाउनको लागि दक्ष जनशक्ति प्राप्त हुनेछ ।

यो शैक्षिक सत्रको सुरुवातदेखि नै पुस्तक रहित शुक्रबार कार्यक्रम निरन्तर चलिरहेको छ । कार्यक्रम आउँदो शुक्रबारदेखि पूर्ण रूपमा लागु हुने क्रममा छ । आज प्रमुखको सचिवालय, शिक्षा विभाग, सहरी योजना आयोगका सदस्य लगायतले पुस्तकरहित शुक्रबार कार्यक्रमको अनुगमन गरेको थियो । त्यसक्रममा विश्व निकेतन माध्यमिक विद्यालय पुग्दा विद्यालयको प्राङ्गणमा नेवाः परम्परा झल्काउने ‘हलिमली’, ‘ब्वज्य’ कार्यक्रम सञ्चालन भइरहेको थियो । विद्यार्थी र शिक्षकहरू उक्त कार्यक्रममा निकै उत्साहित भएर सहभागिता जनाएको देख्न सकिन्थ्यो । यही कार्यक्रम अवलोकनको लागि बानेश्वरको रत्न राज्य माध्यमिक विद्यालयका विद्यार्थीहरू समेत सहभागी भएका थिए ।

यस्तै उक्त विद्यालयमा चेस, दौड, प्रतियोगिता भएको थियो । यस्तै बिहानीको सत्रमा हाजिर जवाफ, मुक्तक तथा कविता वाचन, बाँसुरी वादनलगायतका कार्यक्रम भएका थिए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामुहिक रुपमा काम गर्ने बानीको विकास हुँदै गएकोछ । विद्यालय सञ्चालन भएको पुस्तक रहित कार्यक्रमले फरक फरक सांस्कृतिक परिवेशबाट आएका विद्यार्थीहरुलाई सहअस्तित्वको भावना जगाउने काम गरेको हामीले महसुस गरेका छौ ।
शिक्षामा सीप कार्यक्रम अन्तर्गत ‘काष्ठकला तथा मूर्तिकला’ कार्यक्रम निरन्तर ५ हप्तादेखि सञ्चालनमा आइरहेको छ । यो कार्यक्रमको लागि हामीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सँग सहकार्य गरेर विज्ञ शिक्षक ल्याएका छौ । विद्यार्थीहरूले ५ औँ हप्ता नै निकै राम्रो सीप सिक्न पाएको बताउन थालेका छन् । हप्ताको ५ दिन पढाइ र एक दिन हुने यस्तो कार्यक्रमले विद्यार्थीलाई मानसिक रूपमा नै स्फूर्त बनाएको विद्यालयका शिक्षकहरुको अनुभव छ ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०८:३०

Leave a Reply