सङ्घीय संसद्का महासचिव पाण्डेयद्वारा शपथ

२४ माघ २०८०, बुधबार ०६:०७

 

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार पद तथा गोपनियताको शपथ लिएका  छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।