जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित

२४ माघ २०८०, बुधबार १२:५१

जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताएका छन् ।

अफगानीस्तानको आधा जनसङ्ख्यालाई शुद्ध पिउने पानीको पहुँच नभएको स्थानीय टेलिभिजन च्यानल टोलो न्युजले हक्कानीलाई उदृत गर्दै जनाएको छ ।

हक्कानीले जलवायु परिवर्तनका कारण युद्धग्रस्त अफगानिस्तानको तीन प्रतिशत जङ्गललाई नष्ट गरेकाले नियमित वर्षामा ३७ प्रतिशतले कमी आएको उल्लेख गरेका छन् ।

अफगानिस्तानले वर्षौँदेखि खडेरीको सामना गरिरहेको छ । परिणामस्वरुप राजधानी काबुललगायतका स्थानमा भूमिगत पानीको मन्दी आएको छ । यसैबीच सहरका करिब ६० लाख मानिसहरू चरम पानीको अभावको सामना गरिरहेका छन् ।

एनईपीएका जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमीनले जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको सामना गर्न अनुमानित दुई अर्ब अमेरिकी डलर चाहिने बताएका छन् ।

अफगानिस्तानका उच्च शिक्षा उपमन्त्री लुतफुल्ला खैरखवाहले आगामी दिनमा पूर्वी सहर जलालाबादको नानगाहर विश्वविद्यालयमा अफगान र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन हुने जानकारी गराएका छन् ।