संसार अराजकताको युगमा प्रवेश गरेको राष्ट्रसङ्घ प्रमुखको भनाई

२५ माघ २०८०, बिहीबार ०२:३६

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसार ‘अराजकताको युग’ मा प्रवेश गरिरहेको बताएका छन् । गाजा युद्ध पाँचौँ महिनामा प्रवेश गरेसँगै उनले गहिरोसँग विभाजित सुरक्षा परिषद् इजरायल–हमास युद्धजस्ता महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको चेतावनी दिएका हुन् ।

उनले इजरायली सशस्त्र बलले दक्षिणी सहर राफामा दबाब दिए यसले ‘अनपेक्षित क्षेत्रीय परिणामहरूका साथ पहिला नै मानवीय दुःस्वप्नका रूपमा तीव्र वृद्धि गर्ने’ चेतावनी दिए । अक्टोबर ७ मा अभूतपूर्व आक्रमणपछि हमासलाई समाप्त गर्ने आफ्नो अभियानमा इजरायली सेनाले गाजापट्टीमा लगातार बमबारी र स्थल आक्रमण गरेको छ । इजरायली अभियानबाट १० लाखभन्दा बढी मानिस दक्षिणतर्फ विस्थापित भएका छन् ।

उनले सेप्टेम्बरमा आयोजना हुने आफ्नो ‘भविष्यको शिखर सम्मेलन’ लाई पहिलाको भन्दा ‘गहिरो र खतरनाक’ समस्या सम्बोधन गर्नका लागि एउटा महत्वपूर्ण स्थलका रूपमा भएको बताए । उनले शीत युद्धको समयमा राम्रो तरिकाले स्थापित प्रणालीले महाशक्ति सम्बन्धहरूलाई व्यवस्थित गर्न सहयोग गरेको विपरीत ती प्रणाली आजको बहुध्रुवीय विश्वमा हराएको बताए ।