इरान समर्थित मिलिसियालाई लक्षित गरी इराकमा अमेरिकी ड्रोन आक्रमण

२५ माघ २०८०, बिहीबार ०५:३२

बीबीसी । अमेरिकले इराकको राजधानी बग्दादमा ड्रोन आक्रमण गरेको छ । बीबीसीका अनुसार आक्रमणमा एक शीर्ष कमाण्डर सहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ ।

पूर्वी बग्दादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा शक्तिशाली कताइब हिजबुल्लाहका कमाण्डर र उनका दुई सहयोगी सवार थिए। आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर खरानी भएको थियो । इराकी अधिकारीहरूका अनुसार मारिएका मध्ये एक जना विसाम मोहम्मद अबु बकर अल–सादी सिरियामा कटाइब हिजबुल्लाहको कारबाहीका कमाण्डर हुन् ।

जोर्डनको सैन्य आधारमा भएको हमलापछि अमेरिकाले गत हप्ता इराक र सिरियामा इरान समर्थित आतंकवादी समूहका दर्जनौं स्थानमा बमबारी गरेको थियो जसमा धेरै मिलिसिया सदस्य मारिएका थिए । अमेरिकाले जोर्डनमा रहेको सैन्य शिविरमा भएको आक्रमणको लागि इराकको इस्लामिक रेजिस्टेन्सलाई दोष दिएको छ । मारिएका मिलिसिया कमाण्डर इस्लामिक प्रतिरोध संगठनका नेता रहेको अधिकारीहरूले बताएका छन्।