कर्मचारी संगठनको प्रश्नः पछिल्लो बेन्चमा बसेर लिखुवागिरी गर्नेहरु मुख्यमन्त्री बन्छन् भन्दा कस्तो सन्देश जान्छ ?

२५ माघ २०८०, बिहीबार ०६:५९

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार नेपाल निजामती कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीको अभिव्यक्तिले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको बताएको हो ।

सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ । योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’

मुख्यमन्त्री कार्कीले मोरङको सुन्दरहरैँचा नगरपालिका–६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा अन्यत्र असफल भएका व्यक्ति राजनीतिमा सफल हुने अभिव्यक्ति दिएका थिए । उनलेल भनेका थिए, ‘फस्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ । कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेले केबल लेख्न–पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो।’